नयाँ भाडादर कायम गर्न माग गर्दै रास्वपा बझाङद्वारा प्रशासनमा ज्ञापन पत्र

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : पेट्रोलियम पदार्थको मुल्य घटेपनि बझाङ जिल्लामा संचालित छोटो तथा लामोदुरीका यातायात व्यवसायीहरुले पुरानै भाँडादर कायम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ज्ञापनपत्र बुझाएको छ ।

केहि दिन अगाडि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँले घटाएको छ ।

तर बझाङका यातायात व्यवसायीहरुले भने पुरानै भाडादर कायम गरेर यात्रुबाट बढी भाडा असुलेको भन्दै आज रास्वपा बझाङका संयोजक नगेन्द्र बहादुर खड्काले ज्ञापनपत्र बुझाएका हुन् ।

पेट्रोलियम पदार्थको मुल्य घटाए पनि छोटो तथा लामो दुरीका यातायात व्यवसायीहरुले भाडादर नघटाएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए ।

यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मुल्य घटे पनि भाडादर नघटाउदा सर्वसाधारण थप मारमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा लेखिएको छ । ‘नेपाल आयल निगमको मिति २०८०÷०१÷२२ गतेको नयाँ मुल्य समायोजन अनुसार नयाँ भाडादर कायम गरी आम सर्व साधारणलाई सहज तथा सुलभ सेवा उपलब्ध गराइदिनहुन अनुरोध छ ।’

गाडी मालिक तथा चालकहरुले मनोमानी ढङ्गले भाडा असुल्ने गरेको संयोजक खड्काको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले तत्काल सुरक्षा निकायलाई जानकारी गराई अनुगमन गर्ने तयारीमा रहेको बताए ।

उनले अनुगमनका बेला बढी भाडा असुलेको पाइएमा गाडी मालिक तथा चालकहरुलाई कारबाही गरिने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *