बझाङ । लगातारको हिमपातले सडकमा हिउँ जम्दा पटकपटक यातायात अवरुद्ध भएको छ । बझाङबाट धनगढी, महेन्द्रनगर र काठमाडौं जाने र त्यहाँबाट जिल्ला आउने सयौं यात्रु राजमार्गको विभिन्न ठाउँमा घन्टौं हिउँमा फस्ने गरेका छन् । दैनिकजसो राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाउने गरेको पवनदूत यातायातका काउन्टर इन्चार्ज विनोद बमले बताए ।
उनले भने, ‘सामान्य वर्षा भए पनि श्रीभावर र खोड्पेतिर हिउँ जम्छ । वर्षा भएका बेला गाडी नरोकिएको कुनै दिन छैन,’ उनले बढी हिउँ परेका बेला २ दिनसम्म गाडी रोकिने गरेको उल्लेख गर्दै सामान्यतयाः ४ घण्टा दैनिक बाटो अवरुद्ध भइरहेको बताए ।
हिमपातकै कारण बझाङको विद्युत् सेवा पनि अवरुद्ध हुन थालेको छ । बैतडीको भालुमारा भन्ने ठाउँमा हिउँको भार थाम्न नसकेर मुख्य लाइनको तार खसेका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।
यस्तै सोमबार साँझदेखि नै बन्द भएको नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा पनि बिहीबार दिउँसो केहीबेर सुचारु भएर पुनः बन्द भएको छ । विभिन्न ठाउँमा रहेका टेलिकमका सोलार स्टेसनमा पाता छोपिने गरी हिउँ जमेका कारण ब्याट्री चार्ज हुन नसक्दा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।
विगतभन्दा यो वर्ष पश्चिमी वायु लामो समयसम्म सक्रिय भएकाले बढी हिमपात भएको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले जनाएको छ । हावापानी कार्यालयका प्रमुख नीराजन सापकोटाका अनुसार पश्चिमी वायु अझmै सक्रिय देखिएकाले शुत्रबार रातिसम्म देशैभर हिमपात र वर्षाको सम्भावना रहेको छ ।