काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले दिवङ्गत पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका काम असाधारण तथा बिर्सन नसकिने खालको रहेको बताएका छन् ।
‘उहाँले गरेका कामहरू कसैले उपेक्षा गर्न सक्दैन’ नेकपाद्वारा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले भने । प्रधानमन्त्री ओलीले दिवङ्गत भएका अधिकारी र भरतमोहन अधिकारीको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गर्ने पनि बताए ।
साथै दिवङ्गतहरूको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘उहाँहरूका पारिवारिक अवस्था कस्तो छ र जीविका चलाउन के गर्न सकिन्छ । उहाँहरूले सञ्चालन गरेको व्यवसायलाई सरकारले के सहयोग गर्नुपर्दछ भनेर जानकारी लिइरहेको छौँ’ उनले भने ।
उनले सोही हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका व्यवसायी आङछिरिङ शेर्पाले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गरे । ‘दिवङ्गत हुनुभएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकको समृद्धिको पक्षमा निष्ठापूर्वक काम गर्नु थियो’ उनको भनाई थियो ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत पर्यटनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पुर्याएको योगदानको स्मरण गरे । उनले भरतमोहन, रवीन्द्रजस्ता कम्युनिस्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे ।
कान्तिपुर दैनिकबाट साभार ।