सिमा विज्ञ बुद्धिनारायण श्रेष्ठलाई बेलायतको डरहम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सिमा अनुसन्धान इकाई द्वारा प्रदान गरिने प्रतिष्ठित रेमण्ड माइलफ्स्की अवार्ड २०२४ बाट सम्मानित गरिएको छ। नेपालीको कामलाई अन्तर्राष्ट्रिय स्तरमा यस्तो सम्मान प्राप्त गरेको हो।
रेमण्ड माइलफ्स्की अवार्ड सीमा व्यवस्थापन र सीमा क्षेत्रमा सहयोगी काम गर्ने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष प्रदान गरिन्छ। यसले सीमा निर्धारण र सीमा सहकार्यका क्षेत्रमा विशेष योगदान पुर्याउनेलाई कदर गर्ने गर्दछ।
पहिले पनि नेपालीले पाएका थिए यो अवार्ड
यो अवार्ड २०२० मा क्यामरुन–नाइजेरिया मिक्स्ड कमिसनलाई प्रदान गरिएको थियो। उक्त टोलीले क्यामरुन र नाइजेरियाबीचको सीमा विवाद समाधानमा साहसी र महत्वपूर्ण भूमिका खेलेको बाफत उक्त अवार्डले सम्मानित गरिएको थियो । उक्त टोलीमा एक नेपाली, प्रभाकरप्रसाद शर्मा, कन्सल्टेन्ट सर्वेयररइञ्जिनियरका रूपमा सहभागी थिए।
शर्माले १३ वर्षसम्म दुबै देशका २,१०० किलोमिटर लामो विवादित सीमा क्षेत्रमा काम गर्दै सीमा विवाद समाधान र सीमा स्तम्भ निर्माणको कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। ती सीमावर्ती क्षेत्रहरू मध्ये धेरै जसो स्थान बोको हराम जस्ता विद्रोही समूहबाट प्रभावित थिए।
क्यामरुन–नाइजेरिया मिक्स्ड कमिसन सन् २००२ मा संयुक्त राष्ट्रसंघका महासचिवद्वारा क्यामरुनका राष्ट्रपति पॉल बिया र नाइजेरियाका तत्कालीन राष्ट्रपति ओलुसेगुन ओबासान्जोको अनुरोधमा गठन गरिएको थियो। यो संस्था अन्तर्राष्ट्रिय अदालतको निर्देशन अनुसार स्थापित भएको थियो।
उक्त टोलीले साहसी रूपमा काम गरी सीमा विवाद समाधानमा ऐतिहासिक योगदान पुर्याएकोमा रेमण्ड माइलफ्स्की अवार्ड २०२० प्राप्त गरेको थियो। यो पुरस्कारको राशी ७४५ पाउण्ड स्टलिगं थियो।
यो सँगै यो सम्मान पाउने नेपालीको संख्या दुई पुगेको छ । बुद्धिनारायण श्रेष्ठले व्यक्तिगत रूपमा र प्रभाकरप्रसाद शर्माले टोलीको सदस्यका रूपमा पुरस्कार पाएका हुन। बुद्धिनारायण श्रेष्ठले सीमा व्यवस्थापनमा पुर्याएको योगदानले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याएको छ भने प्रभाकरप्रसाद शर्माले संयुक्त राष्ट्रसंघ अन्तर्गतको टोलीमा रहेर विश्वमै चुनौतीपूर्ण मानिएको सिमाना विवाद समाधानको क्षेत्रमा योगदान पुर्याएका थिए।