बझाङ : जिल्ला कारागार बझाङमा १ महिने होजियारी तालिम सुरु भएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सीपमूलक कार्यमा लगाएर आत्मनिर्भर बनाउनका लागि आइतबार देखि यो तालिमको आयोजना गरिएको हो ।
घरेलु तथा साना उधोग कार्यालय बझाङको आयोजनामा उक्त तालिम आयोजना गरिएको र तालिममा १५ जना कैदीबन्दी सहभागी भएका छन् । तालिममा सहभागीलाई होजियारीका विभिन्न सामग्री बनाउने सीप प्रदान गरिनेछ ।
जिल्ला कारागार बझाङका जेलर राजेन्द्र फडाराका अनुसार यो तालिमले कैदीबन्दीलाई नयाँ सीप सिकाउने र रिहाइपछि उनीहरूलाई आत्मनिर्भर जीवन जिउन प्रेरित गर्ने लक्ष्य राखेको छ । ‘कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने हाम्रो उद्देश्य हो ।’ जेलर फडाराले बताए । ‘यस्ता तालिमले कैदीबन्दीलाई समाजमा पुनःस्थापित गर्न मद्दत पुग्नेछ ।’
तालिममा स्वेटर, टोपी, मफलर लगायतका सामग्री बनाउन सिकाइने छ । तालिमका लागि आवश्यक सामग्री घरेलु तथा साना उधोग विकास समितिले उपलब्ध गराइएको घरेलु तथा साना उधोग कार्यालयका सुचना अधिकारी दशरथ जप्रेलले बताए ।
तालिममा सहभागी कैदीबन्दीहरूले यो अवसरलाई आफूहरूको भविष्य सुधार गर्न उपयोग गर्ने बताएका छन् । यहाँ सिकेका सीपले बाहिर गएर रोजगारीका लागि सहज बनाउने सहभागीहरुको भनाई छ ।