बझाङ :नेपालका २५ जना पर्यटन व्यवसायी भारतकाे उत्तरप्रदेश सरकारले आयोजना गरेको १४४ वर्षपछि आयाेजना गरेकाे महाकुम्भ मेलामा सहभागी भएका छन्।
उत्तरप्रदेश सरकारको निमन्त्रणा र नेपाल पर्यटन बाेर्डकाे समन्वयमा नेपाली पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका पदाधिकारी, नाट्टा केन्द्र र प्रदेशका प्रतिनिधि तथा पत्रकारहरूको टोली महाकुम्भ मेलामा सहभागी हुन भारत गएका हुन्।
महाकुम्भ दर्शनका साथै उत्तरप्रदेशमा अवस्थित धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले यो भ्रमणको आयोजना गरिएको हो। यस साताव्यापी भ्रमण कार्यक्रमले दुई देशबीच धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।
भ्रमणको पहिलो चरणमा टोलीले कृष्ण जन्मभूमि मथुरा, वृन्दावन, ताजमहल र प्रयागराजका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरिसकेको छ।
अब भ्रमणको बाँकी चरणमा काशी बनारस, अयोध्या र गौतम बुद्धसँग सम्बन्धित विभिन्न स्तूपहरूको अवलोकन गरिने टाेलीमा सहभागी सुदुरपश्चिम टुर एण्ड ट्राभल्सका म्यानेजिङ डाइरेक्टर किशाेर खड्काले बताए ।
खड्काका अनुसार उत्तरप्रदेश सरकारको पहलले नेपाली तिर्थयात्रीलाई धार्मिक स्थलहरूको भ्रमणमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ। भ्रमणले नेपाल-भारतबीच धार्मिक पर्यटनका नयाँ सम्भावनाहरू खोजी गर्न मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न यस्तो कार्यक्रम महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ। साथै शुक्रबार लखनउ, ताजमहलमा त्यहाँका व्यवसायिसंग छलफल गरिएकाे नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले बताए । ।
लखनउमा उत्तरप्रदेश सरकार र पर्यटन अथोरिटिले टाेलीलाई स्वागत तथा सम्मान गरेको हो । टाेली बुधबार उक्त ठाउँकाे भ्रमणमा पुगेकाे छ ।