अपिका यादहरू – १

पर्यटन

एउटा रोमाञ्चक यात्रा संस्मरण

नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्र मान ढंगोल आफु मात्र यात्रा गर्दैनन । उनि आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफु सँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउछन । उनै डंगोलले बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गर्ने सौभाग्य पाएका छौ । प्रस्तुत छ । डगोलको यात्रा संस्मरण अपिका यादहरु श्रंङखला ..१

राजेन्द्रमान डंगोल

अकस्मात गरिएको एउटा स्मरणीय यात्रा थियो, अपी बेस क्याम्पको । स्मरणीय पनि किन नहोस्, यादहरू तरेल बनेर अन्तस्करणमा बसेपछि ।

२०१८ को नोभेम्बर महिनामा अपी बेस क्याम्प जाने वैकल्पिक पदमार्ग अवलोकन भ्रमणको आयोजना गरेको थियो, टुरिजम डिभेलप्मेन्ट सोसाइटी (टीडीएस), धनगढीले । टीडीएस्को निमन्त्रणा मलाई पनि थियो, सो भ्रमणका लागि ।

आफ्नो देशका असङ्ख्य भूगोलहरू अवलोकन गर्ने उत्कण्ठा पालेर बसेको यायावर भएकोले मेरो लागि त्यो एउटा अनुपम अवसर थियो किनकि म सुदूरपश्चिमको अद्भूत ठाउँहरूमा पाइला टेक्ने सौभाग्य पाउँदै थिएँ ।

भ्रमण टोली खप्तड हुँदै नोभेम्बर १५ का दिन बझाङको चैनपुर आइपुग्ने कार्यक्रम भएकोले टीडीएस्ले मेरो लागि नोभेम्बर १४मा काठमाडौँबाट धनगढी र भोलिपल्टै त्यहाँबाट चैनपुरसम्म जीपमा पु¥याउने गरी ब्यवस्था मिलाएको थियो ।

मेरो यात्रा प्रारम्भ भयो, श्री एअरको उडानबाट, मनमा अटेसमटेस उद्वेलन बोकेर ।
अपी बेसक्यम्पको पदयात्रा गर्ने रहर कुँदिएका मेरा पाइलाहरूले सार्थकता पाउने अर्थमा म अत्यन्तै हर्षित थिएँ । काठमाडौँबाट धनगढीका लागि उडेको जहाजले धावनमार्ग छाडेर अकासिने बित्तिकै लाङटाङ र गणेश हिमालका शृङ्खलाहरूमा मेरा आँखा ठोक्किए । लाग्यो, प्रकृतिका अनुपम उपहारहरू भण्डार गरेका छौँ हामीले । जहाजले गीत लिँदैगर्दा मनास्लु, लमजुङ हिमाल, अन्नपूर्णा र धौलागिरि पर्वत शृङ्खलाहरू पनि वरवर सर्दै आए । आकासका बादलहरू पनि बसाईँ सरेछन् कि भनेझैँ लाग्थ्यो त्यो दिन । तराईका हरियाली, पहाडी बस्तीहरू र उत्तरतर्फ सुदूरपश्चिमसम्मै लहरै उभिएका स्वेत हिमशृङ्खलाहरू ! कम सुन्दर थिएनन् ती सब दृश्यहरू ! मैले यात्राभरि आकास यसरी नै खुल्ला रहोस् भन्ने कामना गरिरहेँ, मनमनै ।

सुदूरपश्चिमको अपी हिमालसित नयाँ साइनो गाँस्न जादै थिएँ म । यही मेलोमा धौलागिरिभन्दा परका सैपाल, अपीनाम्पा, जेठीबहुरानी हिमालहरूलाई पनि चिन्न पाएँ । जहाज धनगढीको धावनमार्गमा अवतरण नहुन्जेल मैले ती हिमशृङ्खलाहरू बीचमा मेरो अन्तिम गन्तव्य अपी बेसक्याम्प कहाँ पर्छ भनेर आँखा गाडीरहेँ । एउटा अनौठौ हुटहुटी नै थियो त्यो ।

धनगढी मेरोे ट्रान्जिट प्वइन्ट । टिडिएस्ले मेरो आवास र खानाको ब्यवस्था मिलाएको थियो, धनगढीको होटल साथीमा । होटल साथी ब्यबहारमा साँच्चिकै एउटा असल साथीजस्तै र बस्नका लागि त्यत्तिकै आरामदायी पनि थियो – जस्तो नाम उस्तै काम !

त्यसै दिन साँझहुँदो मलाई चैनपुरसम्म पु¥याउने जिम्मा लिएका जीप चालक मोहन चौधरीले भेटे ।

हाम्रो बीचमा केही बेर प्रेमिल सम्वाद भयो ।
उनले मलाई सुझाए, “सर ! चैनपुर पुग्न २३६ कि.मि. पार गर्नुपर्छ । दश घण्टा लाग्छ । भोलि बिहान चारबजे नै निस्कन पाए राम्रो हुन्थ्यो कि !”
जवाफमा मैले उनलाई भनेँ, “ हुन्छ । म चार बज्दा तयार भैसकेको हुन्छु ।”

मोहनसितको दश घण्टा

उनले भनेझैँ भोलिपल्टबिहान चार बज्दा तयार भएर लबीमा आइसकेको थिएँ । चालक उनी र यात्रु म । हामी तत्कालै चैनपुरका लागि प्रस्थान ग¥यौँ, रोमान्चक कल्पना गदैँ । जतीखेर धनगढी मस्त निन्द्रामा थियो । र, सुनसान थिए सडकका गल्लीहरू, मृतप्रायः आभास दिँदै ।

उज्यालो भैदिएको भए सायद हरियालीमा मन बहकिन्थ्यो होला । प्रकृतिसित सम्वादगर्न सकिन्थ्यो होला । तर, ती सबै सम्भव भएनन्, अँध्यारोका कारण । मैले जीपको सिसाबाट आकासतिर चियाएर हेरेँ । मिरमिरे ताराहरू झरिसकेका थिएनन् । अत्तरिया नपुगुन्जेल हामी निःशब्द नै थियौँ । न म बोलेँ, न ती चालक नै ।
त्यत्तिकैमा चालक मोहनले मलाई सोधे, “सरको सुदूरपश्चिमको भ्रमण पहिलो हो ?”
“होइन । पाँच बर्ष अघि पनि आएको थिएँ । कञ्चनपुर, चाँदनी÷दोधारा र डडेलधुरा पनि पुगेको थिए, यसअघि । उग्रतारा देवीको मन्दिर र अमरसिँहगढी पनि पनि पुगिसकेको छु ।” मैले जवाफ दिएँ, हतारमै ।

जीपभित्रको वतानुकूलताकोे न्यानोले अत्तरियाको चौराहा चोक काटेर उँभो लागेपछि मेरा आँखाहरू लोलाउन खोज्थे । तर, बिथोल्ने गर्थे, डडेल्धुरातर्फबाट हुइँकिएर आइरहेका रात्री बसहरूले । त्यही बेला मलाई अगाडि आउने भासुको भीरको याद आयो । गाडीबाट हेर्दा भीरको अन्त्यहिन त्यो अजङ्गको भीरले मभित्र अप्रत्याशित भय उत्पन्न गराइरहेको थियो । लोलाउन लागेका मेरा आँखाहरू चनाखो भए अचानक । त्यतीखेर मैले कल्पना गरेँ र्– ओहो ! कतै मेरोजस्तै मोहनका आँखा पनि लोलाउन खोजे भने…………… !’

मैले मोहनलाई अप्रत्यक्ष निगरानी गरिरहेको हुन्थेँ । उनी निकै सावधानीपूर्वक स्टेयरिङ मोडिरहेका हुन्थे ।
त्यहीबेला चालक मोहन बोले, “सरलार्ई बोर भयो होला । गीत लगाइदिउँ कि !”
मैले स्वीकारोक्ति जनाएँ ।

उनले गीत बजाए । हामी दुबै गीतहरूमा रमाउन थाल्यौँ ।
हिन्दी र नेपाली गीतहरू पालैपालो बज्दै थिए ।
त्यसै क्रममा गायिका डेजी बराईलीले गाएको पुरानो गीत “छोरा चाहिँ है माया हिड्दछ डुलेर, तरूनीको है माया गफैमा भुलेर” बोलको गीतको रिमिक्स बज्यो–
“भँैसी लडी है माया भीरबाट हेर, छोरा चाहिँ है माया छोरीमा भुलेर” स्थानीय भाषामा ।

मैले अन्तराका सबै शब्दहरूलाई टिप्न भने सकिनँ । किनकि रिमिक्स नेपाली भाषामा थिएन । तर, गायकले गीतलाई रोमान्चक र न्यायपूर्ण तिरकाले गाएका थिए, डेजी बराइलीकै सुर, ताल र लयमा ।
मैले मोहनलाई सोधेँ, “यो कुन भाषामा गाएको हो ?”
उनले भने, “यो कुमाउनी भाषामा गाएको हो सर ।”
“तपाईँ बुझ्नुहुन्छ त कुमाउनी भाषा ?” मैले जिज्ञासा राखेँ ।
“अलिअलि बुझ्छु सर ! तर, भाषा सबै नबुझे पनि यो गीत सुन्न चाहिँ मज्जा आउँछ ।” उनले बताए ।

मैले उनलाई फेरि सोधेँ, छोरीमा भुलेर भनेको चाहिँ के हो नि ?”
“कुमाउनी भाषामा तरूनीलाई छोरी भन्छ । तरूनीमा भुलेर भनेको हो ।” उनले प्रस्ट्याए ।
निकै प्रख्यात रहेछ यो गीत, कुमाउ र गढवालतिर ।
यो गीतलाई हामीले पटक पटक सुन्यौँ ।

गायिका डेजी बराइलीले गाएको यो गीतका बाँकी अन्तराहरू मलाई कण्ठस्थ थियो । उनका शब्दहरू गुन्गुनाइरहेँ मैले उनकै शैलीमा –

‘भन्न लागिन् आमा चाहिँले त्यो छोरालाई हेर
घरको काम गर्न छोरा को यतीखेर …………………’

गीततिरको ध्यानले भासुको भीर काटेको पनि पत्तै भएन ।
जीपमा हुइँकिँदै थियौँ । धेरै पर क्षितीजबाट उदाउँदै गरेको घामको किरणले मिरमिरेलाई चिर्दै गयो । सूयोदयसँगै प्रकृतिमा सौर्यरश्मिहरू पारिला बन्दै गए । सडकमा मानिसहरू आवतजावत भएको देखिन थाल्यो । हामी त्यतीखेरसम्म डडेल्धुरा पुगिसकेका थियौँ ।

डडेल्धुराको महेश्वरी होटलमा बसेर नास्ता लियाँै । र, यात्रालाई निरन्तरता दियौँ । त्यतीखेर सात बजेको थियो ।
मेरो ध्यान फेरि पनि गाडीमा बजिरहेका गीतहरूमै थियो ।

डडेलधुराबाट झन्डै पाँच कि.मि. पर पुगेपछि मोहनले भने, “हामी पोखरा आइपग्यौँ सर ।”
उनले त्यसो भन्ने बित्तिकै झसङ्ग भएँ म । नभन्दै “पोखरा बजार” लेखिएको बोर्ड अगाडि आयो ।
“ओहो ! डडेलधुरामा पनि पोखरा !” अचम्भित हँुदै मैले सोधेँ ।
“यतीमात्र कहाँ हो र सर ! हाम्रो सुदूरपश्चिममा त कीर्तीपुर, पाटन र बागबजार पनि छ ।” मोहनले भने ।
उनको कुरा सुनेपछि मलाई काठमाडौँ उपत्यकाभन्दा बाहिर नभएजस्तै महसुस भयो, नामहरू उस्तै भएकोले ।

मेरो कास्कीको पोखराप्रतीको अगाध स्नेह भएकोले होला । पोखरा भन्ने बित्तिकै मलाई माछापुछ«ेको प्रतिविम्ब सजाएर बसेको उही फेवातालको याद आउँछ । उही चिरपरिचित अन्नपूर्णा र धौलागिरि हिम शृङ्खलाहरूकै झझल्को आउँदोरहेछ । कास्कीको पोखराको जस्तै डडेलधुराको पोखराप्रतीको माया पनि म भित्र नछचल्किरहन सकेन । एउटा कुरा खेल्न थाल्यो मेरो मनमा र्– यती सुन्दर डडेलधुराको पोखरा कास्कीको पोखराजस्तै पर्यटन नगरी कहिले बन्ला !’ यो त प्रधानमन्त्री जन्माउने जिल्ला पनि त हो !

प्राकृतिक सौन्दर्यका दृश्यहरूमा बादलको पर्दा नलागेको मौका छोपेर डडेल्धुराको पोखराबाट देखिएका सैपाल हिमशृङ्खालातर्फ मैले केहिबेर क्यामरा सोझ्याएँ । र, सजाएँ दृश्यहरूलाई मोबाइल, मन र मस्तिष्कमा, लोभलाग्दो गरी ।

मोहनले सूचना दिए, “अब चैनपुर यहाँबाट १३० कि.मि. छ । बाटो पनि साँघुरो छ । कालङ्गागाड पार नगरून्जेल ओरालैओरालो छ । अब ६ घण्टा जती लाग्छ ।”
मैले भनेँ, “ठिकै छ । बिस्तारै जाउँला नि त । स्टेयरिङ तपाइँकै हातमा त छ ।”
उनी केही बोलेनन् । सायद मौनता नै स्वीकृती थियो ।

महाभारत पर्बत शृङ्खलाका छातीमा कोरिएका पक्की सडकका धर्सामा गुड्दै उकालियौँ नचन्थलीका २७०० मिटर उचाइसम्म । र, फेरि ओरालियौँ कालङ्गागाड १३०० मिटरमा, प्रकृतिका अनगिन्ती रहस्यहरूलाई अनुभूत गर्दै । र, सुन्दर अस्तित्व बोकेका हिमाल, पहाडका बस्तीहरू र नागबेली परेर बगिरहेका गाडहरूको सुन्दर चित्र मनको क्यानभासमा कोर्दै ।

मोहनले मन्द गीतमा गाडी हाँकेर पनि समयमै गन्तब्य छिचोले । तमैल बजारमा खाना खाएर जाँदा दिउँसोको दुई बजे बझाङको चैनपुर पुगियो ।

चैनपुरको होटल होलिडे इनमा ड्रप गरेपछि मोहनले मसित बिदा मागे ।
मैले उनलाई सोधेँ, “गोकुलेश्वरमा लिन तपार्इँ नै आउनु हुन्छ होला नि ?”
प्रत्युत्तरमा उनले भने, “हो सर ! म आफैँ आउँछु ।”
मैले भनँे, “राम्ररी जानु होला नि ।”
मैले उनलाई बिदाइको हात हल्लाएँ । उनी धनगढी फर्किए ।

रमाइलो थियो उनीसितको दश घण्टा । निष्कपट लाग्ने उनले सुरक्षितरूपमा मलाई गन्तव्यमा पु¥याए र तोकेको अभिभारा पूरा गरे । र, अविस्मरणीय गुन लगाए मलाई उनले ।

                                                                                                                                                                                                                                                                               क्रमश …

Leave a Reply

Your email address will not be published. Required fields are marked *