नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्रमान डंगोल आफु मात्र यात्रा गर्दैनन । उनि आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफु सँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउछन । उनै डंगोलले डोटीबाट खप्तड, बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गरिरहेका छौ । प्रस्तुत छ । डगोलको यात्रा संस्मरण अपिका यादहरु श्रंङखला – २
तल देखिएको चैनपुर बजार । सेती र बाहुलीगाड सल्बलाई रहेको दृश्य । तरेली परेका बारीका पाटाहरू । प्राकृतिक सौन्दर्यमा हृदय रमाउनेका लागि साँच्चिकै अपूर्व थिए, ती तमाम दृश्यहरू ।
खप्तडबाट चैनपुर आउँदै गरेको टोली चार बजे आइपुग्यो ।
टोलीको नेतृत्व गरिरहेका थिए, आसिस चौधरीले । उनीसित मेरो पहिलेदेखि नै चिनजान थियो ।
म आसिस बाहेक अरूलाई चिन्दिनथेँ । उनले मलाई पदयात्रारत जर्मन नागरिक मार्टिन कुन्चे र नवराज रोस्यारासित परिचय गराइदिए । मार्टिन एक जर्मन कम्पनीका तर्फबाट आएका थिए भने नवराज जर्मन एनआरएन ।
आसिससितै भ्रमणमा रहेका नेपाल टुरिजम बोर्डका तीन सदस्य र टिडिएस्सित सम्बन्धित ब्यक्तिहरू खप्तडबाटै धनगढी फर्केका थिए । अपत्ीर्फ जानेमा उनीहरू दुईजना र म मात्र थियौँ ।
चैनपरको बसाइँ दुई दिनको थियो ।
मेरो रूम पार्टनर थिए, नवराजजी । अक्सर मानिसहरू मसित छिट्टै घुलमिल हुन सक्दैनन् । मलाई अचम्म लागिरहेको थियो । उनी मसित छोटो समयमै घुलमिल भैसकेका थिए । उनी मलाई ‘दाइ’ भनेर सम्बोधन गर्थे । र, म उनलाई बोलाउँदा ‘नवराजजी’ भन्थेँ । हामी बीचमा चैनपुर घुम्ने सल्लाह भएको थिया,े त्यहीदिन बेलुका ।
भोलिपल्ट बिहान ब्रेकफास्टपछि हामी दुबै बजार घुम्न निस्क्यौँ । त्यसो त घुमघाम भन्नासाथ धुमधामकै हुनुपर्छ भन्ने पुरानै मान्यताबाट निदेशित हुँदै निस्केका थियौँ, हामी दुबै नवपरिचित यायावरहरू ।
बजारको बीचमा रहेछ, सुर्मा मन्दिर । मन्दिर छ भन्ने थाहा पाएको भए सबेरै नुवाइधुवाइ गरेर आइन्थ्यो । मन्दिरभित्रै गएर पूजा गरिन्थ्यो । बिहान भगवान्को पूजा गर्नु पर्नेमा हामीले आफ्नै पेट पूजा गरिसकेका थियौँ । मन्दिरभित्र प्रवेश नगरी बाटोबाटै नमस्कार ग¥यौँ हामीले । मन्दिरमा बजेको भक्तिसङ्गीतको समधुर ताल भने मेरो मनमा गुञ्जित भैरहेको थियो ।
बाहुलीगाडको किनारबाट हिँड्दै सेतीको किनारकिनार पुग्यौँ । तीनैतिरबाट खोलाले छेकिएको सुन्दर गोलाकार बस्ती । सानो उपत्यकाजस्तै चिटिक्क परेको । सेती र बाहुलीगाडको जवानीले हुर्केको चैनपुरको बैँैस साँच्चंै आकर्षक थियो । सेतीको किनारमा पुगेपछि हामीले आफैँलाई बिर्सेर केही बेर रमायौँ ।
चैनपुरलाई परिक्रमा गर्दैजाँदा भोपुर दरबार अगाडि पुगेर एकाएक रोकिए टक्क हाम्रा पाइला । दरबार थियो, तात्कालिन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँहको । उनीबारे धेरै थाहा नभएपनि एक शिक्षाप्रेमी धरोहर भनी पुस्तकमा पढेको थिएँ । उनको समर्पण, सच्चा एवम् निःश्वार्थ योगदान सम्झेर मैले शिर ननिहुराइरहन सकिनँ ।
हामीले सुरक्षाकर्मिसित अनुमती माग्यौँ ।
“दरबार हेर्न मिल्छ कि ?”
उनले भने, “मिल्छ । जानुस् न ।”
उनले गेट खोलिदिए ।
हामी दरबार परिसर प्रवेश ग¥यौँ ।
दरबारको बाहिरी भित्तामा लगाइएको रङ्ग चहकिलै थियो । बाहिर हेर्दा सुन्दर देखिन्थ्यो दरबार । सोचेँ – भित्र त झन् राम्रो होला । हामी दरबारको चोटा, कोठा, बैठक कक्ष र बुइँगलसम्म पुग्यौँ । बाहिरबाट हेर्दा जस्तो देखिन्थ्यो, त्यसको ठिक विपरत्ी थियो दरबार भित्रको अवस्था । भुईँ र भित्ताहरु उप्किएका छन् । बुइँगलको सिलिङको काठ जीर्ण अवस्थामा छन् । दरबार दयनीय अवस्थामा गुज्रिरहको छ । कुनै बेलाको त्यही दरबार न्याय र करूणाको प्रतीक थियो । त्यही दरबार अहिले आफँै न्यायको भिक मागिरहेको प्रतीत हुन्छ । हाँसिरहेको चैनपुरमा इतीहास बोकेको एउटा दरबार बिक्षिप्त अवस्थामा रहेको कत्ति पनि सुहाएको देखिन्नथ्यो । त्यो देख्दा त्यस्तो लाग्थ्यो – ‘दरबारका प्रत्येक भित्ताले आज पनि जयपृथ्बीबहादुर सिँहलाई नै खोजिरहेका छन् ।’
पर्यटकीय आकर्षण बन्नसक्ने ऐतीहासिक दरबारको दयनीय स्थिती देख्दा कँुडिएको मन लिएर होटल फक्र्यौँ ।
बझाङमै भएको जयपृथ्बीबहादुर सिँहका पिता बिक्रमबहादुर सिँहको दरबार त झन् खण्डहरमा परिणत भैसककेको भन्ने सुनेका थिएँ । यस्ता दोबाटोका बुर्की बन्न अभिशप्त धरोहर कती होलान् कुन्नि ! विकास र समृद्घिका खोक्रा नारा उराल्नेहरूले वास्तविक विकासको सिन्को चाहिँ कहिले भाँच्ने हुन् ? मुर्मुरिएँ मनमनै ।
बाँकी समय आराम गरेरै बित्यो । अन्य ठाउँतिर घुमघाम पनि भएन । साँढे चारबजेतिर हामी सबै होटलको लबीमा जम्मा भयौँ ।
यात्रा तालिका अनुसार चैनपुरबाट ठकुनडाँडा, लाउने गाउँ, महल भञ्ज्याङ हुदै क्षत्ति वा घाजिर पुग्ने र त्यसपछि सिती र खाइकोट हुँदै अपी बेस क्याम्प जाने थियो । चैनपुरदेखि क्षत्ति÷घाजिरसम्मको बाटो स्वयम् गाइड आसिसका लागि पनि नयाँ भएकोले उनले बाटो देखेको एक जना स्थानीय युवाको साथ लिएका थिए ।
आसिसले स्थानीय गाइड वीरबहादुर धामीसित छलफल गरे । उनले भोलिको दिन सुर्मासम्म गाडीमा जाने, त्यसपछि हिँडेर दुई घण्टा परको दोभानमा बास बस्ने, र पर्सिपल्ट छः छण्टा हिँडेर लाउने पुग्ने सकिने बताए ।
उनकै सल्लाह अनुसार नै हाम्रो मानसिकता तयार भयो, अर्को गन्तब्यका निम्ति ।
पदयात्राको पहिलो दिन
बझाङको गाउँबाट आउने थप सहयोगीहरूलाई कुर्दाकुर्दै चैनपुर छोड्दा मध्याह्न भैसकेको थियो ।
बाहुलीगाड पार गर्ने बित्तिकै कच्ची सडकले स्वागत ग¥यो हामीलाई । जीपका चक्काहरू सडकका ढुङ्गाहरूसित रगडिन थाले । र, सुरु भयो कच्ची सडकको पक्का सकस ! सडकका खाल्टाखुिल्टहरूमा जीपसँगै ढल्कँदै र उचाल्लिँदै गुड्यौँ हामी ।
नवराजजी भन्दै थिए, “यसरी जीपमा सकस गर्नु भन्दा त हिँड्नै मजा हुन्थ्यो, होइन र !”
कच्ची सडक त्यसमाथि पनि भीरको बाटो । यस्तोमा बानी परेका हाम्रा लागि त नौलो कुरा थिएन ।
मैले मार्टिनलाई सोधेँ, “यस्तो सडकमा यसअघि तिमीले कहिल्यै यात्रा गरेका छौ ?”
“अहँ, थिएन ।” उनले भने ।
अघिल्लो सिटमा बसेका उनी जीपको झ्यालबाट बाहिर चियाउँदै भने, “तर, हेर न ती दृश्यहरू कती सुन्दर छन् ! म अहिले यसैको मज्जा लिइरहेको छु ।” उनले भने ।
तल देखिएको चैनपुर बजार । सेती र बाहुलीगाड सल्बलाई रहेको दृश्य । तरेली परेका बारीका पाटाहरू । प्राकृतिक सौन्दर्यमा हृदय रमाउनेका लागि साँच्चिकै अपूर्व थिए, ती तमाम दृश्यहरू ।
जीपको सकस सहेर पनि उनी फोटो खिचिरहकै हुन्थे । आखिर पर्यटक न थिए उनी !
मैले जीप चालकलाई सोधेँ, “सडकको यो सकस अब कती बेर सम्म हो ?”
“धौलेचौर आइपुग्यौँ, अब धेरै छैन ।” उनले जवाफ दिए ।
धौलेचौरका बाटुला खेतका गह«ाहरूमा लहलहाइरहेको हरिया बालीनालीलाई नजरले छामेँ । मनमा लागिरहेको थियो – आफ्नै पसिनाले मौलाएको हरिया बाली देख्दा किसानको मन कती फुरुङ्ग भैरहेको होला ! को होलान् ती किसान ! त्यो हरियालीमा रङ्गिन सपनाका खात कती होलान् तीनको ।
जीप चालकले दुई घण्टा लगाएर जीपले ठकुनडाँडा पु¥यायो । जीपबाट ओर्लँदा हामी धुलोले छपक्कै भैसकेका रहेछौँ । मानौँ, हामीले धुलोको फागु खेलेका थियौँ ।
ठकुनडाँडालाई सुर्मा पनि भनिँदो रहेछ । सुर्मा सरोवरको घडाबाट बर्सेको अमृत बहारले सुर्माभरि फैलिएको हरियाली सुगन्धमा मेरो अतिथि मन मोहित भइरह्यो । त्यसैत्यसै लट्ठिएँ, म ।
मैले सुर्मामा भेटिएकी एउटी बूढी आमैैसित एकैछिन सम्वाद गर्न खोजेँ ।
उनले मलाई देख्ने बित्तिकै सोधिन्, “तमी कहाँका हौ ?”
यो उनको स्थानीय भाषा थियो ।
आमैको प्रश्नको आसय मैले बुझेर मैले छोटकरीमा जवाफ दिएँ, “काठमाडौँको ।”
उनकै भाषामा कसरी जवाफ दिने भनेर मैले लोकल गाइडसित सोधेँ ।
उनले भने, “मुइ काठमाडौ बठे आया हुँ ।”
मैले त्यही भनेँ ।
आमैले हाँस्दै सोधिन्, “क्याई आया हौ ?”
आमाको प्रश्न मैले बुझिनँ । मसँगै उभिएको लोकल गाइडले उल्था गरिदिए । आमैले सोधेकी रहिछिन् – ‘के को लागि आएको भनेर ।’
मैले जवाफ फर्काएँ, “ट्रेकिङ गर्न ।”
उनले फरि सोधिन्, “ कहाँ झान्याकी आया हौ ?”
“अपी बेसक्याम्प ।” जवाफमा मैले भनेँ ।
उनले मलाई दुइवटा गान्टेमुला दिइन् । मैले पैसा दिन खोजेँ । तर उनले लिन मानिनन् । नेपाली हुनुको नाताले सायद उनको त्यो मप्रतीको स्नेह थियो । सत्कार थियो । नेपाली संस्कार र आतीथ्यताको द्योतक थियो । मार्टिनले पनि यो दृश्य हेरिरहेका थिए ।
“यी आमैको यो ऋण के म कुनै दिन चुकाउन सकुँला त ?” मनले त सोधेँ । तर, ओठबाट भने फुस्किएन ।
बिहान दुई पिस टोस्ट र एक कप कफी खाएको पेट खाली भैसकेका थियो । हामी पुग्दा हाम्रा किचेन टोलीले बल्थलीगाडको किनारमा पुगेर खाना तयार पारिसकेका थिए । हामी हतारहतार खाना खाएर रोटे दोभान जान कस्सियौँ, भलै कुन अनकन्टार हो रोटे दोभान वीरबहादुर बाहेक कसैलाई थाहा थिएन ।
नवराजजीले सुर्मा सरोवरको बाटो भएर जान पाए हुन्थ्यो भन्ने इच्छा ब्यक्त गरे । त्यसो त पवित्र सुर्मा सरोवरको पानीका छिटाहरू शरीरमा छर्केर पवित्र हुने उत्कट चाहना ममा पनि नभएको होइन । तर, हामीसँगै गएका सहयोगीमध्येका दर्शनबहादुर बोहराको भनाइ अनुसार ठकुनडाँडाबाट सुर्मा ताल पुग्न पूरै दुई दिन लाग्ने र त्यसपछि बिरुओडार, सुनखान, भादले र क्षत्ति हुँदै जानुपर्ने भएकोले हामीसित भएकोे समय पर्याप्त थिएन । फेरि यो कुरामा मार्टिन र आसिस दुबैले खासै चासो पनि देखाएनन् ।
ती सहयोगीसित सुर्मा सरोवरको बारेमा केही कुरा बताइदिन आग्रह गरेँ मैले ।
उनले भने, “सुर्मा सरोवर जलदेवीको वासस्थान हो । हरेक वर्ष श्रावण महिनाको एकादशीदेखि त्रयोदशीसम्म यहाँ ठूलो मेला लाग्ने गर्छ । यो तालमा स्नान गरे पापबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । सुर्मा देवीका सोह्र दिदी–बहिनीहरूमध्ये सुर्मालाई सफासुग्घर भएर बस्नुपर्ने, चोखीनिती गर्नुपर्ने र छुवाछूत मन नपराउने भएकीले उनकी जेठीदिदीले “छिपिली सुर्मा, तिमी सरोवर जाऊ !” भनेपछि ४८०० मिटरको उचाइमा अवस्थित सरोवरमा गई छुट्टै बसेको भन्ने किंवदन्ति छ । सुर्मा सरोवर जाँदा खाली खुट्टा जानुपर्छ । दश दिनदेखि भात नखाई रोटी खानु पर्छ । लसुन, प्याज खानु हँुदैन । दश दिनदेखि जाँड, रक्सी, माछा, मासु बारेको हुनुपर्छ । र, श्रीमान श्रीमती एकै ओछ्यानमा सुतेको हुनु हुँदैन ।”
मैले आफैसित मौन सम्वाद गरेँे – ‘नेपाली र भारतीयहरूले त यो नियमलाई मान्लान् । तर, तेस्रो मुलुकका पर्यटकहरूले यस्तो कडा अनुशासन पालना गरेर त्यहाँसम्म पुग्ने कष्ट गर्लान् त ! अनि सुर्मा सरोवरलाई पर्यटनसित जोड्न सकिएला त !’
हामी सबैले अघिल्लो साँझ मासु र भात खाएका थियौँ । धार्मिक मान्यता अनुसार चल्ने हो भने त समय पर्याप्त हुने हो भने पनि सुर्मा सरोवर जान मिल्ने हामी कोही पनि थिएनौँ ।
साढे दुईबज्दा हामी सुर्मा गाउँ छाडेर रोटेखोलाको किनारैकिनार उभो लाग्यौँ । नाकमा बुलाँकी, कानमा ढुङ्ग्री र पोतेमा सजिएका महिलाहरू ठूलाठूला घाँसका भारी बोकेर ओर्लँदै थिए । मैले उनीहरूलाई एकछिन नियाँलेर हेरेँ । त्यो बडेमानको घाँसका भारी, पहाडका उकालीओराली र कठिन गोरेटाहरू ! उनीहरूको सङ्र्षमय जीवनको कटु यथार्थ म केवल महसुस गर्न सक्थेँ । उनीहरूलाई देखेर मलाई लाग्यो – ‘यदि यो ठाउँमा पर्यटकहरूको आवागमन भैदिएको भए सायद उनीहरू यतीखेर अतीथ्य सत्कारमा ब्यस्त भैरहेका हुन्थे होलान् ।’
हामी उनीहरूलाई नमस्ते गरेर अभिवादन गथ्र्यौँ । उनीहरू पनि नमस्ते गरेर अभिवादन फर्काउँथे ।
साढे दुई घण्टा हिँडेपछि वाइलेक भञ्ज्याङको फेँदी आइपुग्यो ।
लोकल गाइड वीरबहादुरले भनेको बास बस्ने दोभान त्यही थियो । माथिबाट बगेर आएका दुई खोलाको संगमस्थल पनि थियो त्यो ठाउँ । त्यतीखेर पाँच बज्नै लागेको थियो । हामी २७०० मिटरको उचाइमा पुगेका रहेछौँ । कस्तो भौगोलक विविधता ! बझाङको चैनपुरबाट बझाङकै अर्को ठाउँको दुईघण्टाको ड्राइभ र दुई घण्टाको पैदल (करिब १८ कि.मि.)को दुरीमा १५०० मिटरको उचाइको फरक !
हामी सबै मिलेर क्याम्प सेट ग¥यौँ । पानीको सुबिधा भएकोले क्याम्पिङ गरेर बस्नका लागि त्यो ठाउँ उपयुक्त भए पनि खोलाको छेउ ढुङ्गैढुङ्गा भएकोले टेन्टका त्रिपुर गाड्न निकै कठिन थियो । मुस्किलले ४ वटा मात्र पाल टाँग्न सकिने भएकोले ठूला ग्रुपका लागि भने यो ठाउँ पर्याप्त हुँदैन । भविष्यका लागि यो ठाउँको विकल्प खोज्नैपर्ने हुन्छ ।
शङ्करको किचन टोली आ–आफ्नै कममा लागिसकेका थिए । कोही दाउरा खोज्न गएका थिए । कोही पानी भर्न ।
साँझ पर्दै गयो । चिसो बढ्दै गयो । बल्थली र पनेरीगाडको आवाजसँगै आएको चिसो सिरेटोले ज्याकेट छेड्दै थियो ।
हामीले आगो बाल्याँै ।
आगो ताप्दै गर्दा आसिसले ठण्डीको औषधि निकाले । उवाको रक्सी थियो ग्यालेनमा । दिउँसो सुर्माकी बूढी आमैले दिएको मुला काटे नवराजजीले । आगोको रापमा बसेर हामी सबैले पियौँ दुईदुई गिलास उवाको रक्सी, मुलाको सलादलाई नुनमा चोप्दै । हामीलाई चुनौती दिइरहेको सिरेटोलाई त्यो दुई गिलासको नशाको सहारामा हामीले उल्टै चुनौती दियौँ ।
दालभात खाएपछि हामी टेन्टतर्फ लाग्यौँ । अपी हिमाल ट्रेकिङ गर्दा टेन्टभित्रको पहिलो रात थियो त्यो । र, त्यो अनकन्टार ठाउँमा रात बिताउने हामी १६ जना थियौँ । एउटा अदभूत अनुभूती थियो, त्यो रातको सुताइको ।