वाइलेकको उकालोमा मार्टीनको बालहठ ।
२७०० मिटरबाट झन्डै ३८०० मिटरको वाईलेक भञ्ज्याङ काटेर लाउने पुग्नु थियो । किचन टोली बिहानै सबेरै उठेर नास्ता बनाउँदै थिए । बाटाकोे बीचमा पानीको स्रोत नभएकोले प्याक लन्च बनाएर लानु पर्ने थियो । र, पिउनका लागी चाहिने पानी पनि त्यहीँबाट लग्नु पथ्र्यो । बिहानको खाजा र दिउँसोका लन्चका लागि गहुँको रोटी र चना पकाएका थिए ।
हामी साढेसात बजे निस्किसक्नुपर्ने थियो । तर, ८.३० भैसकेको थियो, बिहानको खाजा खाएर तयार हुँदा । टेन्टहरू पट्याउने र भारी मिलाउनुपर्ने भएकोले पनि ढिला भएको थियो ।
जङ्गल भित्रको उकालोमा हामीले सुस्तरी पाइला सा¥यौँैँ, मानव पाइलाहरूले नै कोरिएका धर्साहरू पच्छ्याउँदै । तर,साँच्चिकै पदमार्ग थिएन त्यो । यात्रा सहज बनाउन हामीसित भएको आँट, साहस र धैर्यतालाई एकै ठाउँमा घोल्यौँ । त्यसमा प्रकृतीका रागहरूलाई मिसायौँ । उत्साह भ¥र्यौँ । र, प्रत्येक आधाआधा घण्टामा थकाई साटासाट ग¥यौँ, एकआपसमा ।
ज्यान तात्न थालेपछि शरीरमा सिर्सिरे हावा हुल्न मैले ज्याकेट फुकालेँ । मसित भएको एक बोत्तल पानी आधा भैसकेको थियो, आधा बाटो नछिचोलिँदै । मलाई चिन्ता थियो– ‘कतै वाईलेक नपुग्दै पानी सकिने त होइन !’
नभन्दै पानीको बोत्तल रित्तिसकेको थियो, वाइलेक भञ्ज्याङ (३७०० मिटर) पुग्दा । ‘वाइलेक’ भन्ने बित्तिकै कुन्डको नाम होला होला भन्ठानेको थिएँ । मेरो सोचाइ सही नभएपनि गलत भने होइन रहेछ । त्यहाँ सानो पानीको सानो तलाउ थियो तर, पिउन योग्य चाहिँ थिएन ।
सुर्माबाट पौने चार घण्टा लागेछ हामीलाई वाईलेक भञ्ज्याङ पुग्न । मसित आसिस , नवराजजी र, दुई जना सहयोगीहरू मात्र थिए । अलि पछाडि आउँदै थिए, मार्टिन र अन्य सहयोगीहरू । आसिसले उनीहरू आइपुगेपछि लन्च गर्ने जानकारी दिए ।
उनीहरू आइनपुगुन्जेल मन्द हावाको झोक्कासँग रोमाञ्चित हुँदै वाइलेक भञ्ज्याङमा बसेर उत्तरपूर्वतर्फ सैपाल हिमालका शृङ्खलाहरू अवलोकन ग¥यौँ । तस्बिरहरू लियौँ । मौसमले पनि औधि साथ दिएको थियो, हामीलाई ।
केही बेरमा मार्टिन र सहयोगी साथीहरू पनि आइपुगे, स्वाँस्वाँ गर्दै । मैले सहयात्रीहरूको मुहार हेरेँ । हँसिला देखिन्थे, उनीहरू । मैले महसुस गरेँ – ‘उनीहरू नभैदिएको भए यो यात्रा कहाँ सम्भव थियो र ! उनीहरूकै साथले त मेरो यो पदयात्राका कठिन पाइलाहरू पनि यती सहज भइरहेका छन् । प्राकृतिक दृश्यहरूमा सौन्दर्य थपिएको आभास भैरहेको छ । वाइलेक भञ्ज्याङले देखाइदिएका दृश्यरूरूप्रती मेरो प्रकृतिप्रेमी मनमा अनुराग भरिएको छ र, नयाँ उमङ्ग थपिदिएको छ, यात्रामा ।’ यस्तैयस्तै तन्द्रमा थिएँ म ।
शङ्करले हठात् प्याक लन्च खोले । एक–एक पिस रोटी र रोटी माथि अलिकती चना राखेर दिए । आसिसले एक–एक वटा स्याउ बाँडे । पानीको प्यास मेटाउने माध्यम स्याउ मात्र थियो, त्यो निरव क्षेत्रमा ।
लन्च र निकै बेरको आरामले शरीरमा ऊर्जा थपिएको महसुस भयो । आसिसले घडी हेरे । घडी हेर्नुको अर्थ अब जानुपर्छ भन्ने उनको आसय बुझ्न हामीलाई कठिन थिएन । पौने एक भैसकेको रहेछ, आखिर हामी सुस्ताए पनि घडीको सुइहरू कहाँ पो सुस्तउँछन् र !
लोकल गाइड सबैभन्दा अघि लागे । बीचमा आसिस, मार्टिन र सहयोगीहरू थिए । सबैभन्दा पछाडि थियौँ नवराजजी र म । हामी दुई जना वाईलेकको टुप्पामा पनि पुग्यौँ र तस्बिरहरू लियौँ ।
प्रकती उही हो, क्षितीज उही हो, दृश्यहरू पनि उही हुन् । तैपनि मलाई त्यहाँ पुग्दा कताकता केही कुरा खट्केको महसुस भइरह्यो । मैले पाइला टेकेका अरू धेरै भञ्ज्याङहरूभन्दा फरक थियो, वाइलेक भञ्ज्याङ । बौद्घमार्गीहरूको बस्ती वरपर बाटोमा छोर्तेनहरू बनाइएको र भञ्ज्याङहरूमा लुङ्दरहरू सजाइएका थिए । तर, त्यहाँ न त कहीँ कतै छोर्तेन देखिए या त लुङ्दरहरू टाँगिएका नै थिए । छोर्तेनको सट्टा ढुङ्गाहरूले बनेका सानो आकारको मन्दिरको प्रतीक बनाइको थियो । लुङ्दरका रङ्गबिहीन भञ्ज्याङ देख्दा सधवा महिलाको सिन्दूरबिनाको सिउँदोजस्तै लाग्थ्यो ।
वाइलेक भञ्ज्याङ पछाडिको पाटोमा हिउँले ढपक्क ढाकेको रहेछ । यसो नजर डुलाएँ – बाटो नै देखिन्न । एकछिन त आश्चर्यमा परेँ । यती कठिन बाटोबाट सहयात्रीहरू कसरी गए ! उनीहरू तल झरिसकेका थिए । हिउँ जम्दाको अवस्थामा सही बाटो भेट्न यसै पनि मुस्किल हुन्छ । त्यसमा पनि पदमार्ग राम्ररी नछुट्टिने गोरेटामा त सहज हुने कुरै भएन । म निकै कठिनका साथ केही मिटर तल ओर्लँे । मलाई याद भयो – यो ठाउँमा त आइस एक्स चाहिन्छ । नवराजजीले मलाई उनले टेकिरहेको लठ्ठी दिए । त्यसपछि मलाई निकै सहज भयो । लाग्यो, जीवनका धुमिल आरोह–अवरोह आखिर यस्तौ हुने त हुन् ।
हामीलाई अलि तल पुगेपछि थाहा भयो । किचनका सामान बोकेका शङ्कर बडाल पहिले नै लडिसकेका रहेछन् । उनले बोकेको थुन्से गुल्टिएर तल खोँचमा पुगेको थियो । भाग्यले थुन्से फिर्ता ल्याउन सकियो । नत्र हाम्रो यात्रा नै त्यहीँ टुङ्गिन्थ्यो । किन कि प्रेशर कुकर, प्लेट र केही खानेकुराहरू त्यसैमा थिए ।
बाँकी बाटो पनि निकै कठिन थियो । पहाडको धारिलो र भिरालो भागबाट ओर्लनुपथ्र्यो । टेक्ने ठाउँ राम्रो थिएन । म आपूmभन्दा पनि सहयोगीहरूप्रती चिन्तित भएँ । उनीहरूले लगाएका जुत्ता सामान्य खालका थिए । अवलोकन गर्दा नोभेम्बरपछिका दिनहरूमा यो मार्गबाट पदयात्रा गर्न असम्भव प्रायः देखेँ, मैले ।
जङ्गलभित्रको बाटोमा पनि हिउँ जमेको थियो । हिउँले भरिएको ओरालो बाटो पार गर्न हामीलाई निकै बेर लाग्यो । ज्यानलाई खुकुरीको धारमा राखेर हिँडिरहेका थियौँ । निकै सावधानी अपनाउँदा पनि एकएक गरी हामी सबै लड्दै थियौँ । खार पुग्दासम्म लड्न बाँकी कोही रहेनौँ । सबैभन्दा पछि म लडेँ । अरू लड्दा हिउँमा लडे, म लड्दा हिलोमा ।
चार बजिसकेको थियो । ३००० मिटर उचाइमा अवस्थित खारओडार पुग्दा । त्यो दिन पुग्नुपर्ने गन्तब्य थियो, लाउने । लाउने पुग्न सम्भव देखिएन । लाउनेभन्दा अगाडि आउने गाउँ थियो, टुरी । लोकल गाइडले टुरी पुग्न एक घण्टा लाग्ने बताए ।
उनको कुरा सुनेर टुरीतर्फ लाग्न लगभग तयार भैसकेका थिए, आसिस र मार्टिन ।
मैले उनीहरूलाई एकछिन रोक्दै भनेँ, “लोकल गाइडले आज छ घण्टामा लाउने पुग्छ भनेका थिए । तर चार बज्दा हामी भर्खर यहाँ(खार) आइपुगेका छौँ । लोकल गाइड त एक घण्टामा टुरी पुग्न सक्ला । तर भारी बोकेकाहरू सक्दैनन् । फेरि बाटो कस्तो छ भन्ने पनि हामीलाई थाहा छैन ।”
टुरी ३०० मिटर मात्र तल हो । त्यसैले समयमै पुग्न सकिन्छ भन्ने आसय थियो, मार्टिनको ।
मैले फरि सुझाएँ, “छोटो दिन भएकोले घाम छँदै गन्तब्यमा पुगेर टेन्ट टाँगिसकेको हुनुपर्छ । भारी बोकेका साथीहरू समयमा पुग्न सकेनन् भने समस्या हुन सक्छ । पानीको स्रोत पनि नजिक भएकोले बास बस्न उपयुक्त ठाउँ यही हो ।”
त्यतीखेरसम्म साढे चार भैसकेको थियो । अन्ततः खारमै बस्ने निर्णय भयो ।
मार्टिनको बालहठ
बाटो मार्टिनले कल्पना गरेजस्तो सहज थिएन । ठाउँठाउँमा हिउँ जमेको थियो । बाटो भिरालो भएकोले ओर्लन निकै कठिन थियो । साँझ परेपछि हिँड्न सकिने अवस्था नै थिएन ।
उक्लन जती सजिलो हुन्छ, ओर्लन त्योभन्दा कठिन । रसिला पहाडमा हुर्केका लालीगुराँसका हाँगाबिँगाहरूको सहारा लिएर ओल्र्यौँ, हामी । लोकल गाइडले टुरी पुग्न एक घण्टा लाग्छ भनेका थिए । तर लाग्यो डेढ घण्टा । उनको लहैलहैमा हिँडेको भए दुःख पाइने रहेछ भन्ने कुरा सबैले महसुस गरे ।
टुरीको निर्धो बस्ती काटेर अगाडि बढेपछि पारिपट्टि सानो, पारिलो र सुन्दर बस्ती भएको लाउने गाउँ देखियो । दुई पहाडको चेपमा सुसेल्दै बगिरहेको थियो कालङ्दागाड ।
शरीरमा पसिना छुटेको बेला एउटा बटुवाको लागि पानीको महत्व अती नै हुँदोरहेछ । तल ओर्लेपछि बगिरहेको कञ्चन कालङ्दागाडसित स्पर्श गर्ने इच्छा तीब्ररूपमा जाग्रित भएर आयो । कालङ्दागाडमा औँला चोपेँ । कालङ्दागाडप्रति स्नेह पलायो । मैले मन चोपेँ । चिसो पानीलाई अञ्जुलीमा उठाउँदै नजर भिजाएँ, पसिना पुछेँ र, थकाइलाई कालङ्दागाडमै बगाएँ । हलुका महसुस भयो, त्यसपछि ।
थकाइलाई कालङ्दागाडमा बगाएकोले होला लाउने उक्लने उकालो पनि खासै कठिन नभएको भान भयो । हामी सबै एकैसाथ लाउने पुग्यौँ, जतीखेर बिहानको १०ः३० बजेको थियो । त्यहाँ रघुवीर धामीको घरको आगनमा हाम्रा सहयोगीहरू खाना बनाउने तर्खरमा लागे ।
खाना तयार नहुन्जेल आसिसले ट्रेकिङ म्याप निकाले र रघुवीर धामीसित बाटोको बारेमा सोधपुछ गर्न सुरु गरे । लाउनेबाट ठानाहुँदै घाजिर जाँदा सजिलो र छोटो हुन्छ भन्ने सल्लाह दिए, उनले ।
मलाई लागिरहेकेको थियो, चैनपुरमा लोकेन्द्र हिलारीले दिएको ‘डाइरेक्सन’ अनुसार नै हाम्रो यात्रा अगाडि बढ्ने छ । खप्तड नेशनल पार्कका कर्मचारी भएकाले यो क्षेत्रका प्रत्येक कुनाकाप्चा थाहा भएका मान्छे थिए, उनी । हामीसित आएका लोकल गाइडले पनि यही बाटो सिफारिस गरेका थिए । यसरी जाँदा ३,९०० मिटर भएर जानु पथ्र्योँ । र, एक दिन छोटिन्थ्यो पनि, समयका हिसाबले ।
यही कुरा आसिसले मार्टिनसित राखे । तर, उनले यो बाटो जान मानेनन् ।
उनले भने, “म यो बाटो जानको लागि आएको होइन । यात्रा तालिका अनुसार नै जान चाहन्छु ।”
नवराजजी जर्मन भाषा पनि राम्रो बोल्थे । उनले पनि यो बाटोको बारेमा बताए । तर, मार्टिनको बालहठसित केही लागेन ।
उनलाई सम्झाउँन सकिएन । मार्टिनले स्थानीयको सुझावलाई बेवास्ता गर्ला भनेर सोचेका थिएनौँ, हामी कसैले पनि । स्थानीयको सुझाबलाई उनले किन बेवास्ता गर्दै थिए भन्ने कुरा हामीले बुझ्न सकेनौँ ।
उनले पाएको यात्रा तालिका शतप्रतीशत सही नहुन पनि सक्छ भनेर उनले पिटिक्कै सोचेनन् ।
मार्टिनको यो पारा देखेर आसिस र नवराजलाई चित्त बुझिरहेको थिएन । स्थानीयले दिएको सुझाबलाई ग्रहण गर्नु पथ्र्यो भन्ने मलाइ पनि लागेको थियो । टीमको नेतृत्व गरेका आसिसले स्थानीयले देखाइदिएको बाटो भएर जाने निर्णय लिन सक्नुपथ्र्यो, तर सकेनन् । मैले यस बारेमा केही प्रतीक्रिया जनाइनँ । किनकि मार्टिन हिँडेका कुनै पनि बाटो हिँड्न सक्छु भन्ने आत्म विश्वास थियो, ममा ।
अन्ततः तालिका अनुसार जाने भयौँ ।
आजको गन्तब्य बढ्धार पुग्नुपर्ने भएकोले यही लक्ष्य राखेर अगाडि बढियो । लाउनेबाट अघि बढेपछि लाग्यौँ, भीरको साँघुरो बाटो । तलबाट कालिङ्दागाडको आवाज आइरहेको छ । तर, देख्न सकिन्न । चराहरूका मधुर ध्वनिलाई पनि निस्तेज पारिदिएको छ, खोलाको आवाजले ।
भीमकाय पहाडको छातीमा फनफनी घुमेर टुप्पासम्मै पुगेका छन् गारेटोका धर्सा । यत्तिको कहालीलाग्दो छङ्गाछुर भीरको बाटो त मैले यस अघिका पदयात्राहरूमा कहिल्यै हिँडेको थिइनँ ।
भीर देखेर आश्चर्य चकित भएका नवराजजी भन्दै थिए, “ठानको बाटो जान पाएको भए यस्तो भीरमा हिँड्नु पर्दैनथ्यो कि हगी दाइ !”
मैले भनेँ, “छाडिदिनुस् अब ! नजाने गाउँको बाटै नसोध्नू भन्छन् !”
उनी केही बोलेनन् ।
उनले त्यसो भन्दा मेरो मनभित्र संशय फैलिइसकेको थियो ।
मेरो मनले भन्यो – ‘सकिएला त चढ्न !’
मनले फेरि भन्यो – ‘ होइन ! मैले यो पहाड चढ्नैपर्छ र हेर्नुपर्छ, त्यहाँबाट देखिने अद्भूत सौन्दर्य ।’
उक्लँदै गर्दा पहराको बीचबाट एकनासले फालहाल्दै गरेको झरना देखियो । त्यहाँ आवाज थियो त केवल पानीको मात्र । माथिबाट झरना झरेको आवाज र तलबाट कालङ्दागाड बगेको आवाज । भीरमा अडेस लगाएर बेनामे त्यो छहराको तस्बिर लियौँ । थकाइ उसैसित साटेर उल्लास उराल्दै उकालियौँ ।
सबैभन्दा अगाडि नवराजजी र म थियौँ, ढुङ्ग्यान गोरेटो र भिराला पहराहरू पढ्दै ।
तीनवटा पहाड छिचोलिसक्यौँ । अझै एउटा बाँकी छ । सहयात्रीहरू धीमा गीतमा पाइला उचालिरहेका छन् । साढे चार बजिसकेको छ । घाम पनि बुढो भैसकेको छ । लाग्छ– ‘आज बढ्धार पुग्न सकिन्न ।’
“आज बढ्धार पुग्न सकिन्न होला । ठुला भिटा (ठुलो भीर)को टुप्पामा पुगेपछि पर्खनु है, सर ।”
तलबाट आवाज आउछ वीरबहादुर धामीको ।
बल्लबल्ल ठूलो भीरको शिरमा पुगियो ।
सौम्य र शालीन थियो ठूलो भीर ३००० मिटर उचाइको हार्दिकता । पौने पाँचबज्दा सबैजना आइपुगे । यहीँ बास बस्ने निर्णय भयो ।
अघिल्ला साँझहरूझैँ आगो तापियो । आगोको छेउमा रिङ्गै बसेर ख्याल ठट्टा ग¥यौँ । र, सहयात्रीमध्ये एक, दीर्घको क्यारिकेचर सुन्यौँ । साँझ ढल्कँदा जूनको टहटह उज्यालो धर्तीमा आइसकेको थियो । सिङ्गो पहाड पोतीएको थियो चाँदनीको रश्मिले । अनपेक्षित गन्तब्य भए पनि बास रमाइलै भयो ।
नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्रमान डंगोल आफु मात्र यात्रा गर्दैनन । उनि आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफु सँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउँछन । उनै डंगोलले डोटीबाट खप्तड, बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गरिरहेका छौ । याे डंगोलको यात्रा संस्मरण अपिका यादहरुको श्रंङखला –३ हो ।