अपिका यादहरु –४

पर्यटन

रोमाञ्चकताले भरिएको दिन

राजेन्द्रमान डंगोल

आज चारदिन भैसकेको छ, हिँड्न थालेको पनि ।

“जुन दिन छिटो गर्ने भन्यो त्यही दिन ढिलो हुन्छ । लामो बाटो हिँड्न पर्छ भनेपछि त अलि छिटो गर्नु पर्छ नि !”
एक्लै भुत्भुताउँदै थिए, गाइड आसिस । उनले अघिल्लो साँझ सहयोगीहरू सबैलाई चाडो गर्न सचेत गराएका थिए ।

जती नै छिटो गर्छु भने पनि बियाँलो त भइहाल्ने ! बिचरा उनीहरूलाई पनि त्यती सहज कहाँ थियो र ! बिहानै उठ्यो, नास्ता तयार पा¥यो, सबैलाई खुवायो अनि आपूm पनि खाएर बन्दोबस्तीका सामान मिलाउँदा मिलाउँदै समय त्यत्तिकै बितीहाल्ने । क्याम्पिङ ट्रेकमा हुन नै यस्तै हो ।
साढे आठ भैसकेको थियो हिँड्ने बेला ।
“आज धौलेढुङ्गा ओडार पुग्नुपर्छ । बाटो लामो भए पनि सजिलै छ ।” लोकल गाइड वीरबहादुर धामीले भने ।

यो मार्गमा तीन वटा उस्तैउस्तै नाम भएका ठाउँ रहेछन् – धौलेचौर, धौलेढुङ्गा ओडार र धौलेढुङ्गा ।

यात्रा सुरु गर्ने बित्तिकै हामीलाई तर्पाया उकालोले बोलाइसकेको थियो । लामै उकालो तुरेपछि फेरि बाटो उही कालाङ्दागाडको किनारैकिनार अघि बढ्यो । त्यसो त अस्तिदेखि नै कालाङ्दागाडले छोडेको छैन हामीलाई । कपराङ र बढ्धारको चौरमा थकाइ साटासाट गर्दै यात्रालाई निरन्तरता दिन्छौँ ।
ठूलाभीटा (ठुला भीर) बाट हिँडेको पनि तीन घण्टा भैसकेको थियो ।
वनस्पतीहरूका मिश्रित रागले मात्र भोक टर्दो रहेनछ । भोकले पेट निमोठ्न सुरु भैसकेको थियो । पन्ध्र मिनेट हिँडेपछि लन्चका लागि रोकिन्छ, हाम्रो टोली ।
मैले शङ्करलाई सोधेँ, “दालभात पाक्न कति बेर लाग्छ ?”
“भरे मात्रै ! अहिलेलाई चाउचाउ उमाल्दै छु ।” उनले जवाफ दिए ।
पहिलो पटक पदयात्रामा चाउचाउ लन्च गर्दै थिएँ म ।

शङ्करले चाउचाउ उमालुन्जेल खोलाको किनारतिर लाग्यौँ, नवराजजी र म । उनले कपडा खोलेर पानीमा डुबुल्की मारे र, निस्केर दारी पनि काटे । हिँड्दाहिँड्दा पसिनाले बाफिएको शरीरलाई चिसो पानीमा डुबाउनु स्वास्थ्यको लागि कती ठीक बेठीक थियो कुन्नी ! उनले डुबुल्की मारेको देखेर म पनि चुपबस्न सकिनँ । मार्टिन पनि पानीमा पसे । आसिस चाहिँ तराईमा जन्मेकाले होला चिसो पानीमा औधि डराउँथे ।
चाउचाउले ह्वात्तै शक्ति बढायो । हिँडाइको गीत पनि बढ्यो । सायद धोलेढुङ्गा ओडार पुग्ने ठाउँ कल्पेर पनि होला ।
लाउनेका रघुवीरले भनेका थिए, “धोलेढुङ्गा ओडारभित्र पानीको धारा छ । धारामा एकनासले पानी झर्दैन । छिनछिनमा पानी आफँै बन्द हुँदै झर्छ । हेरेर जानु होला ।”
हामीलाई त्यो ओडार भित्रको धारा पनि हेर्नु थियो ।
हामीलाई कुतूहलताले तानिरह्यो, तानिरह्यो ।
तेर्साे बाटो पनि निकै नै छिचोल्यौँ । फराकिलो लोछीका घाँसे चौर आयो ।
वीरबहादरले भने, “उ त्यहि हो, धोलेढुङ्गा ओडार ।
बेनामे शिखरहरू थिए, धोलेढुङ्गा ओडारभन्दा पछाडि । हामीले यसैलाई पृष्ठभूमिमा राखेर थुप्रै तस्बिरहरू लिन समय खिच्र्यौँ ।
त्यो लेकाली उपत्यकालाई मनमा उतारेँ । यस्तो मनोरम ठाउँ, जहाँ खोला छ, जङ्गल छ, जीवजन्तुहरू छन् । तर, मानव बस्ती मात्र छैन । विषमताका गाँठाहरूमा बाँचेको यीे पर्वतीय सुन्दरताको बीचमा बस्नलाई एउटा सानो घर होस्, एउटा गाडी होस् ! आहा ! कती मज्जा हुन्थ्यो ! आखिर कल्पना नै त हो, गर्दैमा पैसा तीर्र्नु परेन क्यार !
मनको लड्डु घ्यूसित खाँदै म मज्जाले हिँडिरहेँ ।
नवराजजी मलाई छोडेर वीरबहादुरसित लस्किएका थिए । मभन्दा अघि भैसकेका उनीहरू दुबै । मेरो साथि मेरै छायाँ मात्र थियो । पुगिहालिन्छ, किन दगुर्नु प¥यो र भन्नेमा थिएँ म । सायद आसिस र मार्टिनलाई पनि त्यस्तै लागेर होला मभन्दा पछि उनीहरू । र, निकै पछाडि थिए, सहयोगीहरू ।
पश्चिमतिरबाट घामले पखेटा फिजाउँन थालिसकेको थियो । दिनको अन्तिम प्रहरको लामो छायाँ देख्दै थिएँ, म । हिँड्दाहिँड्दै निकै नजिक आइसकेको थियो, धौलेढुङ्गा ओडार पनि । विशाल पहाडको फेँदमा रहेको ढुङगे ओडारको प्वाल राम्रै कालीगढले बनाएको कलात्मक झ्यालजस्तै लाग्थ्यो ।
क्याम्पमा पुग्नका लागि कालाङ्दागाड तर्नुपथ्र्यो । वीरबहादुर र नवराजजी पहिले नै खोलापारि पुगिसकेका थिए । कालाङ्दागाडमा फड्के हालेको थिएन । एक्लै थिएँ म । तर्न खोजेँ, आँटै आएन । सकेसम्म जुत्ता नभिजोस् भनेर ढुङ्गामा टेकेर फड्कन खोजेँ । दुर्भाग्यबस सम्हालिँन खोज्दाखोज्दै लेउ लागेको ढुङ्गामा चिप्लिएर पानीमा टेक्न पुगेँ ।
अघिल्लो दिन रहरले औला चोपेको कालाङ्दागाडमा आज जबरजस्ती खुट्टा नै चोपिन पुग्यो । जुत्ता मज्जैले भिजे । भिजेको जुत्ता नफुकालिकनै क्याम्पसम्म पुगेँ । अनि मैले बुझेँ रहर र बाध्यता बीचको फरक ।
क्याम्पमा पुगेर भिजेका जुत्ता फुकाल्दै थिएँ म । मार्टिन र आसिस पनि आइपुगे । उनीहरू दुबैको हालत मेरोभन्दा कम थिएन ।
आसिस भन्दै थिए– “‘चोक्टा खान आएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखान जस्तै भयो ।”
उनले बोलेका सुनी मात्र रहँे मैले ।
हामी बस्ने ठाउँ धौलेढुङ्गा ओडारको पारिपट्टि थियो । सेतक चिनी ओसारपसार गर्नेहरूले बनाएको अस्थायी घरमा बास बस्यौँ हामी । शरीर थाकेपनि मन थाकेको थिएन । तर, भिजेको जुत्तालाई नअख्य्राई हिँड्न सम्भव थिएन । चाहँदाचाहँदै पनि धौलेढुङ्गा ओडार हेर्ने हाम्रा इच्छालाई बाध्यताले बाटो छेकिदियो । खोलामा पछारिँन हामीलाई रहर थिएन फेरि ।
घाम डुब्दैगर्दा पश्चिम क्षितीज गोधूलीका पत्रहरूले भरिँदै जान्छन् । ३,६०० मिटरको उचाइबाट म यता पूर्वतिर हेर्छु । पहाडैपहाडका झ्यालभित्र मुस्कुराइरहेको ह्युगल हिमालमा डढेलो लागेको तस्बिर देखियो । दृश्य दुबैतिरको उस्तैउस्तै । विषमताको भूगोलमा उभिदा अनुरूपताको दोहोरी गीत गुञ्जिन्छ मनभरि ।
चारवटा अस्थायी घरहरू थिए, त्यहाँ । तीमध्ये एउटामा चिनी ओसारपसार गर्नेहरू बसेका थिए । बाँकी ३ वटा हामीलाई दिइएको थियो । प्रत्येक घर अगाडिका पेटीमा बोराहरूमा प्याक गरेर खातैखात लगाएर राखेका थिए, सेतक चिनी । सेतक चिनी महत्वपूर्ण जडीबुटीमध्यको एउटा नाम ।
त्यो देखेर म मनमनै गम्छु – यहाँ सेतक चिनी, यार्चागुम्बा, कटुकी र वन लसुनजस्ता बहुउपयोगी वनौषधिहरू छन् । यस्ता जडीबुटीहरू त अझै कती हेलान् । हामीले यी मध्ये कुनैको पनि उपयोगिता लिन जानेका छैनौँ । विडम्बना ! यी सबै विदेश पुग्छन् । यतीमात्र होइन, यी पहराहरूमा कती अमूल्य खनिजहरू होलान् ! तर, तीनको पहिचान गर्न, उत्खनन र उपयोग गर्न÷गराउन सक्दैनन् मेरो देशका सफल अधिनायकहरूले ।
एकछिनसम्म यही कुराले एकाग्र बनायो मलाई र एक किसिमको आक्रोशित पनि ।
त्यतीखेरसम्म सहयोगी दीर्घ बोहराले अस्थायी घरभित्रको चुलोमा आगो फुकिसकेका थिए । चुलोको रिङ्गै बसेर आगोको लप्कामा म, मार्टिन र आसिस भिजेको जुत्ता सेकाउन थाल्यौँ । भरुवा बन्दुक भैदिएको भए त्यसरी सेकाउदा पड्किसक्थ्यो होला । तर, हाम्रो जुत्ता हत्तपत्ति सुकेन ।
श्ङ्करले ल्याइदिएको दालभात चम्चाले खाँदै जुत्ता सेकाई नै रह्यौँ ।
लाउनेका रघुवीर बोहराले आसिलाई भनेका थिए, “धौलेढुङ्गा ओडारमा बसेका ठेकदारसित बाटोको बारेमा जानकारी लिनु होला ।”
जुत्ता सेकाउँदै गरेका आसिसले सम्झे ।
खानापछि आसिसले बाटोको बारेमा ठेकदारसित सोधपुछ गरे ।
ठेकदारले पनि उही सल्लाह दिए, “महल भञ्ज्याङ ४४०० मिटरको भएपनि बाटो निकै गाह«ो छ । तपाईहरू मल्लो पास (पत्थरराशी भञ्ज्याङ) भएर जानू । बरु सामानहरू झुपामा बोकाएर लानू र भञ्ज्याङ पार गरेपछि धर्मघरमा बास बस्न पुग्नू ।”
उनले थपे, “क्षत्तिमा बस्ने महावीर बोहरा आज धनशेराबाट सेतक चिनी ल्याएर पनि चुपोताल भन्दा माथिको खर्कमा फर्केका छन् । भोलिबिहान सबेरै वीरबहादुरलाई पठाएर झुपो ल्याउन लगाउनू र आठ बजेसम्म यहाँबाट हिँड्नू ।”
४,८३० मिटरको मल्लो पासबाट जाने कुरालाई मार्टिनले फेरि पनि इन्कार गरे । आसिस उनलई सम्झाउन खोज्थे । तर, महल भञ्ज्याङ भएरै जाने ढिपी छोड्दैनथे, उनी ।
भोलिसम्ममा त मार्टिन मल्लो पास भएर जान मान्ला कि भन्नेमा थिए आसिस ।
मैले आसिस र मार्टिनको बीचमा भएको सम्वादलाई खासै महत्व दिएको थिइनँ किनकि मार्टिनले आफ्नो बालहठ छाड्ला भन्ने मलाई लागेको थिएन ।
आगोको रापले अख्रेका जुत्तालाई अगेनाको डिलमै राखेर हामी आआफ्नै टेन्टभित्र छि¥यौँ । अर्को दिन बिहानै हिँड्नु थियो हामीले । मैले मस्त निदाउन सकूँ भन्ने कामना गरँे । मभन्दा अघि नै टेन्टभित्र छिरेका नवराजजीको नाकबाट बाघ कराएको आवाज आइरहेको थियो ।
टेन्टभित्र म्याट्रेसमा पल्टनु अघि मेरो मनले भन्यो – एक पटक हिमालहरूलाई हेर् । मैले टेन्टको जिपर खोलेर हेरेँ । जूनको उज्यालोले नुहाइरहेका थिए ह्युगल लगायतका हिमशिखरहरू । सोचेँ – ‘भोलि सखारै दिवाकरको ज्योति यत्रतत्र छरिँदा साँच्चै कति मनोहरी देखिएलान् ! कल्पनामा डुब्दाडुब्दै कतिबेला टाल्लिएछन् मेरा आँखा, पत्तै भएन ।

नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्रमान डंगोल आफु मात्र यात्रा गर्दैनन । उनि आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफु सँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउँछन । उनै डंगोलले डोटीबाट खप्तड, बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गरिरहेका छौ । याे डंगोलको यात्रा संस्मरण अपिका यादहरुको श्रंङखला – ४ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *