बझाङ– ‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, आँधी आए तराईमा पहाडले छेक्नु पर्छ’ लेखिएको व्यानर लिएर चैनपुरका युवाहरु केही दिन यता राहत संकलनमा जुटेका छन । बारा र पर्सामा हावाहुरीका कारण पिडित भएकाहरुलाई सहयोग गर्न उनीहरुले चैनपुर र अासपासमा राहत संकलन अभियान चलाएका हुन् ।
नेपाली मन परोपकारी संस्थाका सँग सम्बद्ध युवाहरुले चलाएको यो अभियानबाट २५ हजार भन्दा बढी राहत संकलन गरिसकेको छ । तराईमा आएको विपतीमा सानै भए पनि राहत पुगोस भन्ने उद्देश्यले आफुहरुले यो अभियान चलाएको संस्थाका पदाधिकारीहरुले बताए ।
‘तराईमा आएको विपत्तीमा परेकाहरुलाई केही राहत होस भनेर सहयोग संकलन सुरु गरेका हौ’ संस्थाका सदस्य प्रविन्द्र धामीले भने ‘विपत्तीका बेला सबै एकजुट हुनु पर्छ भन्ने सन्देश दिनका लागि पनि यो अभियान चलाएका हौ ।’
संस्थाले संचालन गरेको अभियानमा जिल्लामा कार्यरत कर्मचारी, व्यापारी, शिक्षक, विद्यार्थी र सर्वसाधारणले स्वऐच्छिक सहयोग गरिरहेको उनले बताए । संकलित सहयोग रकम जिल्ला प्रसासन कार्यालय बझाङ मार्फत बारा र पर्सा जिल्ला प्रशासन कार्यालयको सहयोग कोषमा जम्मा हुने गरी दाखिला गरिने संस्थाका अध्यक्ष हर्क ढाँटले बताए ।
परोपकारी मन नेपाली संस्थाले यस अघि पनि जिल्लामा आपत विपतमा परेकाहरुलाई विभिन्न खालका सहयोग गर्दै आएको छ । जिल्ला भर भएका अनाथबालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था मिलाउनको लागि नेपाल सरकार र विभिन्न दाताहरुको सहयोगमा यो संस्थाले सदरमुकाम चैनपुरमा बाल आश्रमको निर्माण गरिरहेको छ ।
बझाङमा पुस्तकालयको अभाव पुरा गर्नका लागि यो संस्थाका स्वयंसेवकहरुले एक व्यक्ती एक पुस्तक अभियान समेत संचालन गरिरहेका छन । पुस्तक संकलन गरेर जिल्लामा सुविधा सम्पन्न पुस्तकालयको स्थापना गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।