अपिका यादहरु – ५

पर्यटन

अकस्मात अल्मलिँदा
भोलिपल्ट यात्रा त अगाडि बढायौँ । तर, कुन बाटो गइन्छ भन्नेमा हामी सबै अनभिज्ञ नै थियौँ । चुपोतालमा पुगेपछि महावीरसित सल्लाह लिएर अगाडि बढ्ने योजना थियो, आसिसको ।

एक घण्टाको उकालो हिँडेपछि चुपोतालको छेउमा झुपा चराइरहेका महावीर भेटिए । मेरो आँखा पुग्यो, चुपोतालमा । हिउँले ढाकिँदा मात्र बन्ने त्यो मौसमी तालमा पानी जमिसकेको थिएन । सोच्दै थिएँ – ‘चुपोतालसित प्राण सम्बन्ध गाँस्ने जीवहरू अचेल विकल्प खोज्न कहाँ जान्छन् होला ।’

महावीरलाई भेट्ने बित्तिकै आसिसले सल्लाह मागे । उनले चुपोतालको डिलमा बसेर ४४०० मिटरको महल भञ्ज्याङ र ४८३० मिटरको माथिल्लो दुबै भञ्ज्याङ देखाए । महलभञ्ज्याङको बाटो खम्बा ठड्याएजस्तै ठाडो देखिन्थ्यो । मल्लो (माथिल्लो)पास अलि टाढा भएपनि तुलनात्मक रूपमा सजिलो भएकोले त्यतैबाट जान सुझाब दिए, उनले ।

महावीरको कुरा सुनेपछि महलभञ्ज्याङको बाटोबाट जान नसकिनेमा मार्टिन कन्भिन्स भए । तर, उनी माथिल्लो पासबाट जान भने अझै तयार देखिएनन् । माथिल्लो पासको उचाइ ४,८३० मिटर भएकोले बढी हिउँ हुन सक्छ भन्ने उनको तर्क थियो । उनले एकछिन सोचे र धनगढी फर्कने निर्णय लिए । जोखिम नमोलौँ भन्ने मार्टिनको तर्कसित म पनि असहमत हुन सकिनँ ।

मार्टिनको तर्क जायज भएपनि ३ हप्ता अगाडि परेको हिउँ आजसम्म पग्लिसकेको हुन्छ र जान सकिन्छ भन्ने तर्क थियो, नवराजजीको । तर, मौसम कुनै पनि बेला बिग्रन सक्छ भन्ने हेक्का थिएन, उनीमा । छलफल गर्दागर्दै साढे एघार बजिसकेको थियो । त्यो दिन हामी चाहेर पनि अगाडि बढ्न सक्ने अवस्थामा थिएनौँ ।

नवराजलजीले मार्टिनलाई सम्झाउँदै भने, “आज यहीँ बसौँ । महावीरको एक जना मान्छे र हाम्रो एक जना सहयोगीलाई पास हेर्न पठाउँला । यदि सक्ने रहेछ भने जाउँला । नभए यतैबाट फर्कौँला । भोलि त महावीरको टीम पनि हुन्छ । सबै सँगै जाँदा सजिलो हुन्छ ।”

मौसमको कुरा हो । भोलि हिउँ पर्न पनि सक्छ । फेरि सहयोगीहरूसित सनग्लास थिएन र उनीहरूले लगाएका जुत्ता पनि गीतला थिएनन् । ४,८३० मिटरको पासमा गएर जोखिम मोल्नु बुद्घिमानी होइन भन्ने भनाइ राखेँ, मैले । तर, नवराजजीको हठसित मेरो केही लागेन ।

हामी धनगढी नै फर्कने हो भने किन उही बाटो फर्कने भन्ने नवराजजीको कुरामा मार्टिन पनि सहमत भए । मार्टिन सहमत भएपछि आसिसलाई त झन् के चाहियो र ! उनी सहमत नहुने कुरै भएन । उनले सुरेश बोहरा र अर्को एक सहयोगीलाई भञ्ज्याङको अवस्था हेर्न पठाए ।

मैले आसिसलाई सोधे, “आजको दिन अगाडि बढ्न नसक्दा अपी बेस क्याम्प जान सक्ने सम्भावना बाँकी छ कि छैन ?” उनले जवाफ दिए, “ त्यो त अब छैन दाइ ।”  मैले फेरि सोधेँ, “त्यसो भए हामी यो पास गरेर धनगढत्ीर्फ लाग्छौँ होइन त ?” “हो दाइ । आज अलि अगाडि गएर खर्कमा बस्ने । भोलि बिहान सात बज्दा झुपोमा भारी राखेर हिँडिहाल्ने र क्षत्ती पुग्ने । बरु क्षत्तीमा एक दिन बसेर आराम गरौँला नि !” उनले भने ।
ठानेँ – ‘समस्या नआउने भए त कुरा मनासिब हो । तर, कुनै अप्रिय घटना घटिहाले को जिम्मवार हुने हो भन्ने नै थिएन ।’

यतीखेर यात्राले नयाँ मोड लिइसकेको छ । हामी भोलिका दिन कुनै पनि हालतमा क्षत्ती पुग्नैपथ्र्यो किनकि हामीसित खानका लागि चामल र दाल थिएन । ठानको बाटो जान नमानेर मार्टिनले गल्ती गरेका थिए । फेरि अर्को गल्ती दोहरिँदै थियो, नवराजजीको कारणबाट । अनिच्छालाई काखी च्यापेर उनीहरूलाई पछ्याउनुको विकल्प थिएन, मसित । मैले जोखिमपूर्ण यात्रा नगर्न खोजेको थिएँ । मलाई थाहा थियो, जीवनमा पहिलो पटक म यती मूर्ख हुन बाध्य भएको छु ।

करिब चालिस मिनेट हिँडेपछि खर्क (३,७५० मि) आइपुग्यो । सहयोगीहरू खाना बनाउन सुुरसारमा लागे, कोही टेन्ट टाँग्न ।

निलो आकास, सेता हिमाल र खैरा पहाडहरूका बीचमा मुस्काइरहेको मौसमको सौन्दर्य र प्रकृतिको त्यो भब्यता ! म क्याम्प गरेको ठाउँभन्दा अलि तल गएँ । बडेमानको ढुङ्गामा उक्लिएर शरीर बिसाएँ । पारि पट्टिको बेनामे हिमालमा परेको हिउँ पग्लेर झरेको झरना हेरेँ । ह्युगल हिमालबाट बगेको खोलालाई हेरेँ । र, उही हिमालसित भावना साट्दै आफैँभित्र उल्लास सँगालेँ । कल्पनामा अपी हिमाल र काखीमा विवसतालाई च्यापेर पहाडको फँेदीमा बसेको मन चञ्चल हुँदै चराजस्तै उडेर पत्थरराशी भञ्ज्याङसम्मै पुग्यो । जीवनमा सन्तुष्टि, सुख र शान्ति खोज्ने ठाउँ त आखिर प्रकृति नै रहेछ । अद्भूत अनुभूती थियो त्यो पनि एकबारको जुनीमा । सँझदै मखलेल हुन्छु म ।

चार बजेतिर महावीर झुपाहरू लिएर खर्क फर्के । उनले आसिस र मलाई भेटेर भोलि बिहान सात बज्दा झुपोमा भारी राखेर हिँडिहाल्ने सल्लाह दिए । उनको साथमा एक बोत्तल उवाकोे रक्सी थियो । उनले रक्सी तताउन लगाए । हामी तीनै जनाले मेरै टेन्टभित्र बसेर पियौँ । यस्तो लाग्थ्यो, त्यो सुरा साँच्चि नै सोमरस थियो, अकल्पनीय आनन्दानुभूती थियो ।

पत्थरराशी भञ्ज्याङ पुग्दाको अनुभूती हामी छ बजे उठेर जूनको उज्यालोमै हातमुख धोयौँ ।
नास्ता थियो दालभातको । सहयोगीहरू सामान प्याक गरेर झुपोमा बाँध्दै थिए । सात बज्दा नवराजजी, मार्टिन र म महावीरका टीमको सदस्य सुरेश बोहरासित अघि लाग्यौँ । बिस्तारैबिस्तारै जून सेतीन र हिमालहरू पहेँलिन लागे । कलिलो घामको जवानी चढ्दै जाँदा फुरुङग हुँदै थियो, चिसोले कठ्याङ्ग्रिीएको मेरो शरीर । गुँडभित्र हिउँदको लामो रात बिताएर ब्युँझेका भ्याकुरा भोको पेटमा नास्ता खोज्न निस्किरहेका थिए । यस्तै प्रतीत हुन्थ्या, त्यो वातावरणमा ।

एक घण्टा हिँडेपछि ठँड्यौल (४,००० मिटर)मा पुग्यौँ । क्याम्पिङका लागि अत्यन्तै सहज ठाउँ थियो, त्यो । यो रूट भएर पदयात्रा गराउँदा पत्थरराशी भञ्ज्याङ उक्लनु अघिल्लो दिन यहाँ आइपुग्दा बाटो छोटिने रहेछ ।

४०५० मिटरको उचाइमा पुगेपछि धर्तीमा हिउँको बिस्कुन भेटियो । बाटोमा स्वेत जलफूल बिछ्याएर प्राकृतिले हाम्रो आगमनलाई स्वागत गरिरहेछ भन्ने भान हुन्थ्यो । टुन्ड्रा वायुमा श्वासफेर्दा सुकेको मुखलाई भिजाउन पानीको घुट्की लिएँ । नजर गरेँ प्राकतीक छटा र मनोरम आवहावामा ।

सामुन्नेको भञ्ज्याङलाई औँल्याउदैँ सुरेशले भने, “सुर्मा सरोवरबाट आउँदा पार गर्नुपर्ने भञ्ज्याङ त्यही हो ।” “ओहो ! सुर्मा सरोवर गएको भए आज हामी त्यही पास पार गर्दै हुन्थ्यौँ होला, हगी दाइ !” नवराजजीले भने । त्योे पासको अहिलेसम्म कसैले न्वारन गरेको रहेनछ ।

यार्चागुम्बा टिप्ने मान्छे भएकाले सुरेश बोहराका लागि त्यो उकालो सामान्य थियो । पातलो र दरिलो ज्यान भएका उनी बाटो नभएको भीरमा पनि उक्लन्थे । उनी नै थिए खरायोको चालमा अघिअघि । उनका दरिला पाइलाहरूले घिच्याइरहेको थियो, हामीलाई । यात्रामा हुने नै यस्तै हो ।

चारैतिरका चुचुराहरूलाई देखाउँदै उनी भन्थे, “हामी त ती सब ठाउँमा पुग्छौँ दाइ । यार्चा टिप्ने बेलामा त यहाँ चर्को प्रतीस्पर्धा नै हुन्छ ।”

छोटो बाटो लाने क्रममा उनले हामीलाई ठाडै उकालो पहाडको धारैधार भएर लगे । उनी त उक्लन सक्थे तर हामीलाई निकै सकस हुन्थ्यो । एकपछि अर्को थुम्का पसारिन्थे । झन् चढ्यो झन् गाह«ो । उनले यसै गरीगरी तीनवटा थुम्का उकालिसके हामीलाई । लामोलामो श्वासप्रश्वासमा यात्रा अघि बढिरहेको थियो । प्रत्येक पाइला उचाल्दा मेरा दुबै तीघ्राका मांसपेशी एउटै डल्लो पथ्र्यो । लाग्थ्यो – ‘कतै नसा त चुडिने होइन !’ र, पनि बिना शिकायत उक्लि नै रहेँ ।

उनले भने –‘अब माथिको थलीमा पुगेर थकाइ मारौँला !’ मार्टिन र नवराजजी तातेताते गर्दै थकित ज्यान घिसार्दै थिए, निकै पछाडि । एउटा बाध्यताजस्तै लाग्थ्यो । घिसारिँदा घिसारिँदै थलीमा पनि पुगियो । सुरेशले भने, “मैले भनेको माथिल्लो थली यही होे ।” अनगिन्ती थुम्काथुम्की, पहाड र पर्वतहरू आँखै अगाडि आए । मैले बगिरहेको ह्युगल खोलाको पानी हेरेरै आँत शीत्तल पार्न खोजेँ ।

उनले फेरि भने, “उः….. त्यही हो पत्थरराशी भञ्ज्याङ ।” “त्यहाँ पुग्न कती बेर लाग्छ ?” मैले सोधेँ । “एक घण्टा ।” उनले जवाफ दिए । तर, हेर्दा त नजिकै जस्तो देखिन्थ्यो । हामी ४७०० मिटरको उचाइमा पुगेका थियौँ । थलिमा पुग्न मात्र कठिन हो । पुगिसकेपछिको आनन्द बेग्लै । तरुण बयमा चलिरहेकोे बतासको मिठास बेग्लै । प्राकृतिक सौन्दर्यको मिठास बेग्लै । ह्युगल हिमालको लज्जालु मुस्कानको मिठास बेग्लै । पूरै प्राकृतिक छटाको दृश्यवलोकनको मिठास झन् बेग्लै ।

तल हेर्दा हाम्रा सहयोगीहरू लाइन लागेर पहाड उक्लिँदै थिए । झुपोले भारी बोक्न नसक्ने ठाउँमा सहयोगीहरूले नै बोक्नु पथ्र्यो । अपीसित साइनो गाँस्ने मेरो रहर त किनारा लागिसकेको थियो । थुम्कामा बसेर दृश्यहरूको रसास्वादन गर्दैगर्दा मनमा थियो अपीकै खुल्दुली । सबै सहयात्री र सहयोगीहरू आइपुगे । थुम्कामा निकै बेर बितायौँ । चाउचाउ र बिस्कुट चपायौँ । उर्जा भर्नै पथ्र्यो येनकेन प्रकारेण । मैले आसिससित ठट्यौलो पारामा प्रश्न गरेँ, “ अब फेिर कहिले आउने त यो ठाँउमा ?”

“यो नै पहिलो र अन्तिम हो दाइ !” उनले जवाफ फर्काए । उनकोे मात्र होइन मेरै लागि पनि त्यो मार्गका यात्रा सम्भवतः पहिलो र अन्तिम नै थियो । भलै जिन्दगीमा यस्ता थली, देउराली र शिखर कति पुग्नुपर्ने हो थाहा छैन । घडीमा एक बजेछ । महावीरले भने, “लौ ! अब त हिँड्नुपर्छ । क्षत्ती पुग्न निकै टाढा पो छ ।” आजको दिन क्षत्ती पुग्नैपर्ने बाध्यताले हामीलाई घचेट्छ । गन्तब्यमा पुग्न नसक्नु भनेको यात्रा असफलताको द्योतक पनि त हो । यस्तैयस्तै भावनाले मन कटक्क खाइरह्यो ।

हिँड्नु छ । फेरि हिँड्नु छ । केवल हिँड्नु मात्र छ । फेरि थपिन्छ पत्थरैपत्थरको एउटा अर्को पहाडको शृङ्खला । पहाडले पत्थरैपत्थर ओकलेको रहेछ भन्ने लाग्थ्यो । त्यसैले पो भनिएको रहेछ पत्थरराशी भञ्ज्याङ भनेर ! पृथ्वी उथलपुथल भएदेखि नै ढुङ्गेन लेदोले लिपिएको रहेछ, त्यो भञ्ज्याङ । त्यहाँ पुग्न जती कठिन हुन्छ, पुगेपछि यात्रु उती नै मखलेल हुन्छ भन्ने अनुभूत गरायो ।

ठूलाठूला, धारिला र उबडखाबड ढुङ्गाहरू सर्वत्र छरिएका थिए । पत्थरहरूको चेपमा जमेका हिउँका पत्थरसँग जोगिएर हिँड्नु कम कठिन थिएन । मुस्किल थियो चट्टानबाट जोगिन र खुट्टाहरूलाई जोगाउन । अन्नपूर्णा सर्किटको ५,४१६ मिटरको थोराङ ला पार गर्न पनि यती कठिन भएको थिएन मलाई । ४,८३० मिटरको पत्थरराशी भञ्ज्याङले थकाएको मैले साँच्चै स्वीकार गरेँ । तर, जब पत्थरराशी भञ्ज्याङमा टेकेँ, पत्थरराशी भञ्ज्याङमाथि विजय हाँसिल गरेजस्तो महसुस भयो । त्यस्तो विजय त सायदै तेन्जिङ नोर्गे र एडमन्ड हिलारी सगरमाथाको शिखर चुम्दा पनि गरेनन् कि झैँ लाग्यो ।

पत्थरराशी भञ्ज्याङमा चलिरहेको कडा हावाको झोक्काले हामीलाई धेरै समय बस्न अनुमती दिइरहेको थिएन । उसो त क्षत्ती पुग्नैपर्ने भएकोले पनि कम हतार थिएन हामीलाई ।

पत्थरराशी भञ्ज्याङ त हिजो पनि उभिएकै थियो । आज पनि उभिएकै छ । हामी ढल्दा पनि पत्थरराशी उभिई नै रहने छ । क्षणिक भएपनि पत्थरराशी भञ्ज्याङसित उभिएर तस्बिर खिचाउन मन लाग्यो । हतारहतार दृश्य क्यामरामा कैद ग¥यौँ र ओल्यौँ क्षत्तत्ीर्फ । मन नमान्दा नमान्दै पनि ।

चिनी छरिएजस्तो हिउँका दानाले टन्न भएको भिरालो पाखामा लड्दैपड्दै ओर्लन निकै मज्जा भयो । दुई घण्टा बितेको पत्तै भएन । उकालिन भन्दा ओरालिन सजिलो हुन्छ सायद र त छङछङिएका होलान् बेपत्तासित बेगिँदा
झर्नाहरू ।
चार बजे धर्मघर पुगियो । धर्मघर, ढुङ्गाले बनाएको मन्दिराकारको संरचना । झुपाबाट सामान ओराल्दैगर्दा मैले महावीरसित सोधेँ, “मन्दिर हो यो ?” उनले बताए, “यो डेरबागको मन्दिर हो । सुर्मा भवानीको जात्रा यहीँबाट सुरु हुन्छ । क्षत्ति र घाजिरबाट आएर जात्रालुहरूले यहाँ लड्डु, च्यूरा र टिलो (तामा, पित्तल) चढाउछन् र दियो बालेर सुर्मा सरोवर जान्छन् ।”

उनले भने, “तपाईँहरू जाँदै गर्नुस्, हामी बिस्तारै आउछौँ ।” क्षत्तिमा उनको पसल भएकोले हामी उनकै घरमा बस्ने कुरा थियो । त्यसपछिको बाटो थियो ठाडै ओरालो । पहाडको धार भएर ओरालो झर्दा घोप्टिएला कि भन्ने डर हुन्थ्यो । मैले निरङ्कुशता लादेका खुट्टाहरू जुत्ताभित्र दबिन थाले । कुर्कुच्चाहरूलाई पनि न्याय दिन सकिनँ, जसरी सक्दैनन् यो देशका शासकहरू सामान्यजनलाई ।

ओर्लँदै जाँदा ट्री लाइन आइपुग्यो । जमेको हिउँले बाटो पूरै ढाकेको थियो । चिप्लो भएकोले निकै कठिनताका साथ तल खोलासम्म ओर्लँदा एकजना सहयोगीको टाउको र अर्कोको हातमा सामान्य चोट लागिसकेको थियो । घामले डाँडा काटिरहेछ । खोला तिरसकेपछिको बाटो तेर्सो भएपनि सजिलो थिएन । पहिरो नै पहिरो । हामीले चाहेर पनि पाइला छिटो सार्न सकिरहेका थिएनौँ किनकि कुनैकुनै ठाउँमा त पाइला राख्ने ठाउँ पनि थिएन । केहिगरी चिप्लियो सिधै खोलामा पुगिन्थ्यो । तर, ती खतरनाक ठाउँहरूमा मुस्किलले आफैलाई बचाउन सफल भयौँ । यो नै एकखाले बहादुरी थियो हाम्रो ।

तेर्सो बाटो पनि निकै छिचोलिसकेछौँ । साँझ झन्झन् बाक्लिँदै थियो । टर्चलाइटको उज्यालोको सहारा लिइरहेका थियौँ । तर, क्षत्ती पुग्न सकिएको थिएन । म उकालो ओरालोसितै सङ्घर्ष गर्दै आएको मान्छे । उकालो ओरालोसित मेरो कुनै गुनासो थिएन । अलिकती असहमती मात्र थियो, नवराज र आसिस सित । जोखिम मोलेरै हिँडेका थियौँ, त्यो दिन । अन्यौल र अनिश्चितता थियो सबैको मनभित्र, तर ओकलेका थिएनन् कसैले पनि ।

मैले ठानेँ – ‘अन्वेषणमा निस्कँदा यस्तै हुँदे हो सायद । म अन्वेषण र अवलोकन एकैसाथ गर्दै थिएँ ।’ बल्लबल्ल क्षत्ती(३,००० मिटर) पुगियो । सवा सात बजेको थियो । जम्माजम्मी साढे बाह« घण्टा हिँडिएछ । जूनको उज्यालो धर्तीमा पोतीइसकेको थियो । सहयोगीहरू हतारहतार गर्दै दालभातको जोहो गर्न लागे । आसिसले त्यो साँझलाई रमाइलो बनाउने उपाय खोजे । दिनभरिको थकानलाई भगाउन चाहन्थे उनी । महावीरको पसलमा भर्जिन त थियो किन्तु सितनको रूपमा चाउचाउ बाहेक थिएन ।

महावीरले घरको एउटा कोठा आसिस, नवराजजी र मेरा लागि दिएका थिए । आसिसले भर्जिन र चाउचाउ लिएर आए । त्यो कोठाभित्रको मादक साँझमा सहभागी थियौँ, नवराजजी, आसिस, मार्टिन र म । सुराले टिल्ल प¥यौँ परन्तु होस भने किञ्चित गुमाएनौँ । यो त फगत रमाइलो गर्ने बहाना मात्र न थियो ।

अक्सर आसिस र मार्टिनको लोलोपोतो मिल्ने गथ्र्यो । पिउँदै गयौँ, हामी । मार्टिनले भोलिपल्ट खण्डेश्वरी जाने कुरा निकाले । उनीहरू दुईका कुरा मैले सुनिरहेको थिएँ । यसमा पनि उनीहरूको कुरा मिल्दै थियो । जबकि अघिल्लो दिन कुरा गर्दा क्षत्तिमै रेस्ट गरेर खण्डेश्वरी जाने भन्ने तप भएको थियो ।

आसिस आफ्नो अडानमा किन रहन सक्दैन । मलाई अचम्म लागिरहेको थियो । उनीहरूको विचारसित विचार बाझ्यो मेरो । “हिजो त क्षत्तीमै रेस्ट गर्ने भनेको होइन र ?” मैले प्रश्न हु¥याएँ आसिस लाई । “हो दाइ । ठिक छ । भोलि बिहान सल्लाह गरौँला नि त । “हाम्रो यात्रा धनगढीतर्फ हुँदै छ कि अपी बेस क्याम्पतर्फ ?” मैले मार्टिनलाई पनि एउटा प्रश्नको झटारो हानेँ ।

“हामी धनगढत्ीर्फ जाँदै छौँ ।” उनले उत्तर दिए । “यदि त्यसो भने किन त्यती हतार गर्नु प¥यो त ! धनगढी जानका लागि प्रसस्त समय छ । भोलि यहीँ आराम गरे हुन्न र ?” मैले फेरि अर्को प्रश्न तेस्र्याएँ । “क्षत्तीमा हेर्ने ठाउँ केही छैन । त्यसैले खण्डेश्वरी जाने ।” उनको जवाफ थियो ।

मार्टिनको ओठे जवाफ मलाई चित्त बुझ्दो लागेन । मैले उनलाई भनँे, “मार्टिन ! यु आर नट एलोन ईन दिस ट्रेक ! व ीआर अल्सो वीध यु एण्ड वी ह्याभ अ कमन गोल । दियर सुड वी अ कलेक्टिभ डिसिजन । हाउ क्यान दिस जर्नी गो हेड, ईफ आई एम् नट एग्री वीध यु । पोर्टर्स वाक्ट टोयल्भ एण्ड हाफ आवर्स टुडे । दे वील ह्याभ टु वाक सेभेन आवर्स टुमरो । इट उड वी एण्टी लेवर ल । टेल मी ईफ आई एम् रङ्ग । अदरवाइज, डन्ट ट्राई डिटेक्ट अस् ।

मार्टिन नाजवाफ भए । सहयोगीहरूले खाना ल्याइदिए । सिमीको दाल र भात । खानापछि बाहिर निस्केँ । आकासको जून र जूनेली रातको सुनसान प्रकृति ! मायाप्रीति साटिरहेजस्तै लाग्थ्यो हिमालहरू । कल्पनामा डुबेर केही बेर गुन्गुनाएँ मैले –

हरेक बिहान
घामको लाली घसेर सिँगारिने हिमालहरू
कहिलेकाहिँ
बादलको मैलो खाष्टो ओढेर
आफ्ना सौन्दर्य लुकाउँदा रहेछन् ।

हरेक रात
चारैतिरको चिसो वायुको झोका पिउदै
हिँउका ढिक्काहरु वमन गर्दा रहेछन्
हिमताल बनाउन
र, पहाड र तराइका बस्तिहरूमा
जल संचार गराउन ।

खुशीका प्रत्येक पहलसंगै
आफनै पैतला भिज्नेगरि
गहबाट
आँशुका थोपाहरु चुहाएर
त्यहि आँशुको ऐनामा
आफ्नो प्रतिबिम्व सङ्गाल्दा रहेछन् ।

औँशीको चकमन्न रातमा पनि
शान्तीकै गीत गुन्गुनाउँदा रहेछन्
टहटह जूनको उज्यालोमा
घुम्टो खोल्दै बादलको
खुशीहँुदै आपसमा
मायाँ प्रिती पो साट्दारहेछन् ।

नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्रमान डंगोल आफु मात्र यात्रा गर्दैनन । उनि आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफु सँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउँछन । उनै डंगोलले डोटीबाट खप्तड, बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गरिरहेका छौ । याे डंगोलको यात्रा संस्मरण अपिका यादहरुको श्रंङखला – ५ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *