बझाङमा बिसु राैनक

बझाङ

बझाङ । सिल्कावाडामा नयाँ बर्षको स्वागतमा मनाइने बिसु पर्वको रौनक बेग्लै छ । टोलभरि शुक्रबार बिहानैदेखि टोलभरि चहलपहल थियो । छोरीचेलीहरूले बिहानै घरघर पुगेर दाल, चामल संकलन गरे । संकलन गरेको दाल, चामल र भाँडाकुँडा लिएर नजिकैको चउरमा टोलभरिका मानिस भेला भए । कसैले चउरको एकछेउमा खाना पकाउन थाले । कसैले कपडाका रंगीविरंगी पुतली बनाए । कोही पुतलीलाई दूधभात बनाउन थाले । कोही सुख दुःख समेट्ने भाकामा गीत गाउन र नाच्न थाले ।

खाना पाकेपछि सबै एक ठाउँ जम्मा भए । पुतलीलाई दूधभात खुवाए । त्यसपछि आफूले खाए । महिलाहरूले पुतलीको कानमा फूल सिउरिए । निधारमा रातो टीका लाए । हातमा रंगीविरंगी पुतली लिए । विवाहितहरूले माइतीघरको सम्झना गर्दै तथा विवाह गर्ने उमेरका अविवाहितहरू कुनै दिन पराईघर जानैपर्ने हुँदा माइतीघर सम्झनामै रहने अर्थ लाग्ने गीत गाए । विवाहित र अविवाहित महिलाहरूबीचमा एकअर्काको ढाडस दिने खालका बिलौना गीत चले । दिनभर यसैगरी गीत गाउँदै र नाच्दै तथा मिष्ठान्न खाना पकाउँदै खाँदै रमाए । बेलुकीपख रंगीविरंगी पुतलीहरूलाई चउरको एक छेउमा सेलाउँदै आफ्ना घर लागे ।

नयाँ वर्षको केही दिनअगाडि गरिने यस्तो रमाइलो जमघटलाई पुरानो सालको बिदाइ तथा नयाँ सालको स्वागत गर्ने अवसरका रूपमा लिइन्छ । सिल्कावाडाको चउरमा बिसु मनाउँदै भेटिएकी पर्मिशा रोकाया भन्छिन्, ‘यो भनेको एक प्रकारले ‘न्यु इयर इभ’ मनाएजस्तै हो ।’ घरघरै संकलन गरेर ल्याएको दाल, चामल पकाएको खाना खानुलाई ‘पल्ती भात’ (एक प्रकारको वनभोज) र रंगीविरंगी पुतली लिएर नाचगान गर्नुलाई ‘पुतला खेल्ने’ भन्छन् ।
पुतला खेलिसकेपछि सबै मिलेर पुतली सेलाउँछन् । ती पुतलीलाई महिलाका चिनारी मानिन्छन् । विवाह गरेर माइती आउन नपाएका छोरीचेलीका नाममा अविवाहितहरूले माइतीघरमा पुतली सेलाइदिन्छन् । ‘हामीले गाउने गीतहरूमा गहिरा अर्थ हुन्छन् । हरेक पर्वका छुट्टै महत्त्व हुन्छन्, यिनलाई पुस्तौंपुस्तासम्म जोगाउन ठूलाले सानाहरूलाई सिकाउँछौ,’ सिल्कावाडाकी ५५ वर्षीया मन्धरी रोकायाले भनिन् ।

सिल्कावाडाको चउरमा भेटिएकी उनले छोरी, बहिनी पुस्तालाई पुतला खेल्न सिकाइरहेकी थिइन् । खासगरी भर्खरै विवाह भएका महिला र विवाह गर्ने उमेरका महिलाहरूबीच पुतला खेल्ने चलन हुन्छ । तर पछिल्लो समय नयाँ पुस्तामा फस्टाएको आधुनिकताले गर्दा मौलिकता लोप हुँदै गएपछि सिकाउनका लागि मन्धरी रोकायाका पुस्ताहरू पनि जम्मा भएका थिए ।
सिल्कावाडामा जस्तै बझाङका सबै गाउँघर यतिबेला बिसुमय छन् । पढाइ, रोजगार तथा व्यवसायले टाढा रहेका घर फर्किने भएकाले गाउँघरतिर निकै रमझम छ । कतै लिङ्गो (कांकर) गाड्ने काम भैरहेको छ । नयाँ वर्षको पहिलो दिन साँझसम्म बिसु मनाउन माइत जानेहरूको लर्को लागेको छ । माइती गएर आशीर्वाद थाप्छन् । सुखदुःख साट्छन् । परिवार, आफन्त, साथीभाइबीच शुभकामना आदानप्रदान गर्छन् । घरघरमा मिष्ठान्न भोजन पकाउने, खुवाउने र खाने क्रम चलिरहेको छ ।
सुदूरपश्चिममा मनाइने बिसु पर्व नयाँ वर्षको स्वागत र जाने वर्षको बिदाइस्वरूप हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ । बझाङमा अझ बढी भव्य रूपमा मनाइन्छ । नयाँ वर्ष लाग्नुभन्दा १५ दिनअघिदेखि नै बिसु पर्व सुरु हुन्छ । प्रत्येक साँझ माइती आएका र अविवाहित चेलीहरू भेला भएर झिमकेउडा खेल्ने गर्छन् । देउडाजस्तै लयमा गाइने झिमकेउडा गीतमा माइती पक्षको गुणगान, भविष्यमा माइतीघर छोड्नुपर्दा हुने पीडा र पोइलीघरमा पाएको दुःखको कथाहरू समेटिएका हुन्छन् ।
वर्षभरिको कामको चटारोलाई बिर्सेर महिलाहरू बिसुमा पर्वमा रमाउँछन् । घर सिंगारपटार गरेर चिटिक्कै पार्छन् । घर रातो माटो र कमेरोले सिंगार्ने (स्थानीय भाषामा छिप्ने) गर्छन् । नयाँ वर्षभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै घरमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ । बिसुको अवसरमा घर मात्र नभएर कुल देवताका मन्दिरहरू पनि माटोले पोत्ने गरिन्छ । पुरुषहरूले टाढाटाढा जंगलमा गएर गेरु रङको रातो माटो र गुणस्तरीय कमेरो ल्याउँछन् । महिलाहरूले घर छिप्छन् ।
बिसुको अवसरमा विभिन्न गाउँमा कांकर ठड्याउने, लठ्ठी नचाउने, पुतली बिहे गर्ने, पुल्ती भात खाने, बाघ स्याल बन्ने गरिन्छ । परिवार, छरछिमेकमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यस्ताखाले कार्यक्रम गर्ने चलन रहेको पिमीका अगुवा नीलगगन सिंहले बताए । बिसु बाघ बन्न विभिन्न जंगली पात पतिङ्गरहरू पूरै शरीरमा बेरेर बाघको जस्तै अभिनय गर्ने गरिन्छ ।
बिसु मैदानको बीचमा रहेको बझाङको कैलाश, कोटदेवल, गडराय, मष्टा, रिलु दांतोला लगायतका दर्जनौं गाउँमा बिसुमा बाघ बनेर खेल्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *