होमस्टेको मिठो अनुभूति
बिहान सात बजे उठियो । हार्दिक र स्नेही महावीरले आसिस, नवराज र मेरा लािग नास्ता तयार गरेका थिए ।
नास्ता लिँदैगर्दा आसिसले मसित भनेँ, “यहाँबाट पाथा पुग्न २ घण्टा लाग्छ । पाथामा क्याम्प गरेर बस्नलाई ठाउँ पनि राम्रो छ । अब पाथा जाऔँ ।”
उनले अघिल्लो साँझ भोलि बिहान गरौँला भनेको सल्लाह यस्तो रहेछ ।
सोचेँ – ‘पाथामा बस्ने भए त ठिकै छ ।’ अरू सहयोगीहरूले पनि कुरा मनासिब माने । मैले पनि स्वीकारोक्ति जनाएँ ।
लाउनेबाट अघि बढेपछि चार दिनमा भेटिएको मानव बस्ती थियो क्षत्ती । क्षत्तीको चकमन्न संसार निमग्न थियाे, आफैँमा । हँसिला र रसिला देखिने क्षत्तीबासीहरू बिहानैदखि नै आफ्नो माटोमा पसिना चुहाउँदै थिए । ग्रामीण जीवनको दिनचर्या थियो, त्यो ।
हामी पाथातर्फ लाग्यौँ । बाटोबाट झुरुप्प परेको घाजिरको बस्ती देखियो । रानीघाट हुँदै पाथा पुग्यौँ । ठ्याक्कै दुई घण्टा लाग्यो ।
आसिसले भनेजस्तै रमणीय थियो, पाथा गाउँ । पहाडको काख, बाक्लो बस्ती र बस्ती नजिकैको फराकिलो जमिन । क्याम्पिङका लागि अति नै सहज थियो, त्यो ठाउँ ।
पाथाको एउटा होटलमा खाना पकाउन लगाइयो ।
आसिसले छलफल चलाए ।
पाथामा बस्ने वा खण्डेश्वरी जाने भनेर मैले भारी बोक्ने सहयोगीहरूसित उनीहरूको राय बुझेँ । उनीहरूको भनाइ पनि त्यो दिन पाथामै बसेर थकाइ मार्ने थियो । तर, मार्टिन खण्डेश्वरी नै जान चाहन्थे । खन्डेश्वरी गएर ४ दिनसम्म घुम्ने भन्ने थियो । जबकि खण्डेश्वरीमा ४ दिन बसेर घुम्ने ठाउँ नै थिएन । खण्डेश्वरीमै बस्ने हो भने त्यती हतार गर्नुपर्ने मार्टिनको अभिप्राय चाहिँ मैले बुझ्न सकिनँ ।
उनी मजदुरको अप्ठ्यारोलाई बुझ्न सक्ने मान्छे थिएनन् ।
मैले मार्टिनलाई भनेँ, “ यु नो ! पोर्टरर्स आर टायर्ड । दे निड टु टेक अ रेस्ट । डन्ट यु थिङ्क सो ?”
उनले जवाफ फर्काए, “खण्डेश्वरी ईज वन्ली फोर किलो मिटर्स फार फ्रम हियर । वी ह्याभ क्रस्ड थ्री किलो मिटर्स ईन टु आवर्स । ईट उड टेक म्यासिमम् थ्री आवर्स ।”
यो बाटो भएर हिँडिसकेका सुरेश बोहरालाई सोधेँ । उनले ५ घण्टा लाग्ने कुरा बताए ।
कहिल्यै नहिँडेको बाटो ३ घण्टामा पुग्न सकिन्छ भनेर अन्दाज गरेको देखेर सहयोगीहरू पनि मार्टिनसित रुस्ट भएका थिए ।
मैले उनलाई प्रश्न दो¥याएँ , “ईफ यु वेयर ईन दियर फूट, कुड यु वाक टु खण्डेश्वरी वीथ द हेवी लोड ?”
उनी फेरि नाजवाफ भए ।
मार्टिनको अनुहारमा संवेदनहीनताको कुरूपता प्रस्ट देखिन्थ्यो । यत्तिको मानवीय संवदनाहिन विदेशी मैले जीवनमा बिरलै देखेको थिएँ । लाग्यो – ‘यस्तो मान्छेसित के सवाल जवाफ गर्नु ।’
हठी बालकझै लाग्ने मार्टिनको चित्त बुझाउन पनि खन्डेश्वरी जानैपर्ने भयो । आसिसले कुनै निर्णय लिन सकिरहेका थिएनन् ।
सहयोगीहरूको थकाइ मार्ने चाहाना, चाहनामै सिमित रह्यो । पैताला नदुखाई नहुने भयो, उनीहरूले । रित्तै हिँड्ने मार्टिनको रहर र असिसको अकर्मण्यताले थाप्लो कुच्याउनु पर्नेहरू बाध्यताको चेपमा परेका थिए । उनीहरूले थकाइ नमारिदिँदा समस्याको समाधान हुन्थ्यो । एउटा घोर आश्चर्यबाहेक केही थिएन त्यो । मैलै आपैmँलाई प्रश्न गरेँ – ‘कस्तो सहयात्रीसित यात्रा गर्दै छु म ?’
हामी खण्डेश्वरीका लागि कस्सियौँ । दिउँसोको १२.०० बजिसकेको थियो, त्यतिबेलासम्म ।
म नै थिएँ सबैभन्दा अघि । अलि पर डाँडोमा गएर पाथालाई फर्केर हेरेँ ।
मनले भन्यो – ‘मार्टिनको बालहठसित हार्नु नपरेको भए सहयोगीहरूका खुट्टाले त आराम पाउँथे । माथिको डाँडामा गएर दिन बिताउने थिएँ । पाथासित साक्षात्कार हुने थिएँ ।’
सुन्दर पाथालाई बिदाइका हात हल्लाएर फेरि कदम उठाएँ ।
बाटो सहज थियो । अहिलेसम्म सबैभन्दा सजिलो बाटो आजै हिँड्न पाइएकोे छ । हरिया पहाडका तरेली र पातला बस्तीहरू पार गर्दै निरन्तर हिँडिरहेका छौँ ।
निकै बेर हिँडेपछि हामी थुम्ती पुग्यौँ । घडी हेरेँ । ३.१० बजिसकेको थियो ।
थुम्तीको पसलमा सहयोगीहरूलाई कुदैँगर्दा चिया पियौँ । सिलाजितको थियो चिया । मेरो जिब्रोले भन्दै थियो, नितान्त नयाँ स्वाद ।
मैले मार्टिनलाई सोधेँ, “कती घण्टा हिँड्यौँ त हामीले अहिलेसम्म ?”
“हामीले यहाँ बिताएको समय घटाउने हो भने तीन घण्टा भएको छैन । तर आधा घण्टा बढी लाग्ला कि ।”
हामीले त्यहाँ लगभग बिस मिनेटमात्र बिताएका थियौँ । उनी निसङ्कोच आफ्नाकुरा माथि पार्न खोज्दै थिए । उनलाई थाहा थियो, आफ्नो अन्दाज फेल खाँदैछ भनेर । किनकि खण्डेश्वरी अझै निकै पर थियो ।
फेरि कडैसित हिँड्यौँ । हामीलाई त्यहाँबाट खण्डेश्वरीको नौपाटा होम स्टे पुग्न लगभग २ घण्टा लाग्यो । मार्टिनले भनेको भन्दा करिब डेढ घण्टा भन्दा बढी ।
सहयोगीहरूलाई त अझ बढी नै समय लाग्यो । उनीहरू साढे पाँचबजे मात्र आइपुगे । लामो हिँड्नुपर्दा उनीहरू कत्ति पनि खुशी थिएनन् ।
असिसको राम्रो चिनाजानी रहेछ होम स्टे परिवारसित । सायद त्यसैले होला उनले खण्डेश्वरीमा बासबस्न चाहेको पनि ।
अनपेक्षित रमाइलो भयो, खण्डेश्वरीमा । बिर्सनै सकिन्न नौपाटा होम स्टेले पस्किएको हार्दिकता र छर्किएका सुन्दर भावनाहरू । जती दुर्गम थियो बस्ती त्यती नै सुगम थिए उनीहरूका ब्यवहारहरू ।
सफा सुग्घर घरआँगन, सफा कोठा, सफा ओढ्ने ओछ्याउने । आसिसले मेरा लागि होम स्टेमा छु्ट्टै कोठाको ब्यवस्था गरेका थिए । टेन्टभित्र निद्रामा सुताइ मात्र पाउथेँ । कोठाभित्रको सुताइमा निद्रा पाउँदै थिएँ । मनमनै खुशी थिएँ म किनकि टेन्टभित्र सुत्दा शरीरमात्र सुत्थ्यो । तर, आज मेरो शरीरमात्र होइन, मन पनि निदाउने छ । आज मैले जबरजस्त आँखाका पलक बन्द गर्नुपर्ने छैन ।
हाम्रा लागि होमेस्टेका दाइले नुहाउनका लागि पानी तताइदिए । तातो पानीले नुहाएर सफा कपडा शरीरमा उनेपछि ज्यान भयो सिमलको भुवाजस्तै । मन भयो फुरुङ्ग । तुलना गरेँ – ‘मार्टिन र खण्डेश्वरीका मान्छेहरू ।’ नेपाली हुनुमा गर्वानुभूती गरेँ, मैले । लाग्यो – ‘तब न नेपाली ।’
होम स्टेको बसाइँ । विनोदमय र रसिक परिवारको आतीथ्य, खसीको ह्याकुला र भर्जिनको माद । ब्ल्याङ्केट भित्र छिर्न नपाउँदै मलाई निद्राले छोपिसकेको थियो । यती गहिरो निद्रा प¥यो कि म अर्को दिन बिहान ७.३० बजे मात्र ब्युझिएँ । एउटा लङ्गडाले लठ्ठी भेटेजस्तै भयो मलाई त्यो रात ।
यात्रा पुरानै मोडमा
मलाई लागिरहेको थियो – आजको बसाइँ खण्डेश्वरीमै हुन्छ भनेर । होमस्टेको आँगनमा बसेर दश बजेतिर आसिस र मार्टिन फेरि खासखुस गर्न थाले । बेस क्याम्प जाने विषयमा भएको छलफल थियो त्यो ।
खण्डेश्वरीमै चार दिन बस्ने भन्दै थिए मार्टिन । हिजोसम्म बेस क्याम्प जान भ्याइन्न भन्दै थिए आसिस । आज फेरि भ्याइन्छ भन्दैछन् । उनीहरूको ताल देखेर म अचम्भित भएँ ।
समयको रस्सीले समयलाई कस्दै थिए आसिस ।
उनले यसरी नयाँ यात्रा तालिका बनाए –
२४ नोभेम्बर घुन्सा वा नाली
२५ नोभेम्बर दोमल
२६ नोभेम्बर बेस क्याम्प गएर सिती फर्कने
२७ नोभेम्बर गोकुलेश्वर र
२८ नोभेम्बर धनगढी फर्कर्ने ।
दार्चुलाका तीन जना सहयोगीहरूले त साथ दिए तर मार्टिनसित चिढिएका अन्य सहयोगीहरूले उनलाई साथ दिएनन् । उनीहरूलाई मनाउन आसिसले निकै प्रयत्न गरे । तर, ती थकित सहयोगीहरू राजी भएनन् ।
मेरो मनले भनिरहेको थियो – ‘बेस क्याम्प जानु थियो त खण्डेश्वरी आउनैपर्ने थिएन । हिजो थुम्तीको चिया पसलवालाले लिथी जाने बाटो देखाइदिएका थिए । खन्डेश्वरी नआइकन सीधै जाँदा नै सजिलो हुन्थ्यो ।’
आसिसले मलाई भने, “म एकजना सहयोगी खोज्छु । दार्चुलाका तीन जना त भइहाले । तपाइँ र मार्टिन जानुस् । म बाँकीलाई लिएर गोकुलेश्वर फर्कन्छु ।”
मैले मन लागिनलागि भनेँ, “अपी बेसक्याम्पसम्म पुग्न सकिन्छ भने म जान्छु नि त !”
तर, अर्को एकजना सहयोगी नपाए बेसक्याम्पको यात्रा सम्भव थिएन ।
निकै समय लगाएर आसिसले बल्लतल्ल एक जना अर्को सहयोगी भेट्टाए । समस्या समाधान भयो । सहयोगीहरू अब ४ जना हुने भए ।
नाटकीय ढङ्गले यात्राले फेरि पुरानै मोड लिन पुग्यो ।
नौपाटा होम स्टेको आगनमा बसेर पारि पाखाको घुन्सालाई हेरेँ । खन्डेश्वरीबाट ओर्लेर चमेलिया(चौलानी) नदी पुगेपछि फेरि उक्लनु पथ्र्यो । जती ओर्लियो उती नै उक्लनु पर्ने । लठ्ठे पिङ खेलेजस्तै ।
हतारहतारमा नयाँ यात्रा तालिका बन्यो । हतारहतारमा लन्च गरियो । हतारहतारमा मैले ४ दिनका लागि चाहिने कपडा छुट्याएँ । हतारमा नौपाटा होम स्टेले हामीलाई बिदाइ ग¥यो । जेजे भए हारमै भए । तर यात्राका सवालमा भने आकस्मिक थिए ।
हामी गोकुलेश्वर जानेहरूसित छुट्टियौँ र एक बजे यात्रा तय ग¥यौँ ।
आधा घण्टा ओर्लेर चमेलियाको पुल तरेपछि घुन्सातर्फ उक्लियौँ । यसले केही दिन अघि लाउनेबाट अगाडि बढ्दाको भीरको सम्झना गरायो । कहाली लाग्दो भीर उस्तै । साँघुरो र घुमाउरो बाटो उस्तै । त्रास उत्तिकै । जिन्दगीको अनिश्चितताजस्तै ।
उकालिँदै गर्दा चमेलियाको सुसेली बिस्तारै सुनिन छाड्यो । निदाएजस्तै लाग्यो चमेलिया ।
एक बथान गिद्घ चमेलियाको आकासमा उडान भरिरहेका थिए । सायद खोज्दै थिए आहारा । कुनैबेला ९५ प्रतीशतसम्म कमी आएको भन्ने सुनेको थिए,ँ गिद्घको संख्यामा । तर, चमेलियाको आकासमा बथान देख्दा मनले स्वागत गरेँ । गिद्घ गणनाप्रती आङ्का पो उब्जियो ।
३ बज्दा घुन्साको बस्ती पुगियो ।
घुन्साको बस्ती यस्तो अचम्मको बस्ती हो जहाँ पुरानो जीवनशैली, परम्परा र संस्कार भेटिन्छन् भलै यहाँ थुप्रै अप्ठ्याराहरूका कमी छैनन् श्वासप्रश्वास गर्नलाई स्वच्छ हावाको बहाब छ यहाँ र पिउनलाई स्वच्छ पानीका मुहानहरू छन् । भौगोलिक विषमतामा अल्झिएर ज्युन विवश घुन्साको मानवबस्ती भएर लम्किरहेछु म अपी भेट्न ।
त्यहाँको सिङ्गो जीवनका शासनाहरू उकालिएका छन् र सुख समृद्घि निरन्तर ओरालिएका छन् , त्यस्तै अनुभूती भयो मनको एउटा कुनामा । र, पनि जारी रह्यो पदयात्रा अविराम, नदीको पानी समुद्र ताकेर बगेझैँ ।
घुन्साबाट १५ मिनेट हिँडेपछि अर्को गाउँ आइपुग्यो, नाली ।
चिया खाने कुरामा सहमती भयो । सामान्य औपचरिकतामा मात्र सीमित छ मार्टिन र म बीचको सम्वाद ।
शङ्करले मार्टिनलाई सोधे, “यहाँबाट सिती पुग्न दुई घण्टा लाग्छ । आज यहीँ बस्ने कि सिती जाने ?
भोलीको बाटो छोटिने भएकोले उनी सितीसम्म जान राजी भए ।
एउटी अधबैँसे महिला र दुई किशोरी पनि चिया पिउँदै थिए ।
मैले जान्न खोजेँ ।
“हजुरहरूको घर कता हो ?”
“सितीमा ।” महिलाको जवाफ थियो ।
मैले भनेँ, “हामी पनि सिती जाने हो । सँगै हुने भइयो त !”
उनीहरूले जवाफ फर्काए, “भैहाल्छ नि !”
उनले सोधिन्, “तमी कहाँका हौ ?”
यो प्रश्न धेरैले सोध्ने गर्थे ।
मैले उनलाई हामी काठमाडौँबाट आएको र अहिले अपी बेसक्याम्प जान लागेको बताएँ ।
चिया पिएपछि केही बेर हामी उनीहरूसँगै उकालो लाग्यौँ । हिँड्दैगर्दा बिस्तारै उनीहरू र हामी बीचको चाल फरक हुँदै गयो । हाम्रो आफ्नै गीत थियो । त्यही गीतमा हिड्थ्याँै हामी । हामी उनीहरूको सारमा हिँँड्न सकेनौँ ।
हामी पहाडको एउटा धारमा पुग्दा उनीहरू अर्को धारमा पुगिसकेका हुन्थे ।
तीनवटा पहाडका धार काटेपछि सिती देखियो । बैलेमा पुग्न सकिएला त भन्ने लागिरहेको थियो ।
तर कस्तो संयोग ! हामी त्यहाँ पुग्नु र साँझ ढल्कनु एकै पटक भयो । दिनभरि निदाएर बसेका सोलार पावरबाट बल्ने बत्तीहरू भटाभट ब्युँझन थाले ।
सितीमा घरभित्र बास पायौँ । सामान्य भएपनि ढुङ्गा र माटोले बनेकोले न्यानो थियो । हामीलाई चाहिएको नै न्यानो थियो । घुन्सा वा नालीसम्म पुग्ने लक्ष्य थियो । तर, सिती पुगियो, एउटा खुशी । टेन्टमा सुत्नु परेन अर्को खुशीे ।
शङ्करले रू. २५००।– मा एउटा भाले किने । मार्टिन र म अगेना छेउमा बस्यौँ । उनी मसित बढी परिचित हुन खोजिरहेका थिए । अगेनाको छेउमा बसेर आगो ताप्दै उवाको रक्सीको चुस्की लगाइरहेका थियौँ हामी । शङ्करले अलिकती मासु पोलिदिए पछि सुनमा सुगन्धै भयो ।
केही बेरमा मासु भात पाक्यो । ३,७०० मिटरको उचाइको चिसोमा कुखुराको तातो झोल ! मज्जाले खाइयो भात । स्वर्गीय आनन्द !
नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्रमान डंगोल आफु मात्र यात्रा गर्दैनन । उनि आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफु सँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउँछन । उनै डंगोलले डोटीबाट खप्तड, बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गरिरहेका छौ । याे डंगोलको यात्रा संस्मरण अपिका यादहरुको श्रंङखला – ६ हो ।