खप्तड घुम्ने जानेहरू मार्सीको स्वादमा कसरी पल्किइरहेका छन् ? वसन्तप्रताप सिंह र विद्या राईको रिपोर्ट ।
नयाँनयाँ ठाउँमा घुमफिर गर्ने । ठाउँअनुसारका खानेकुराको स्वाद लिने रहर प्रायः सबै मानिसहरूमा हुन्छ । त्यसमा पनि अर्ग्यानिक खानेकुरा भनेपछि हुरुक्कै नहुने कुरै भएन । यस्तै मौका जुर्यो हालैको एक यात्रामा । पछिल्लो समय मार्सी भातको हल्लाखल्लाले बजार पिटेपछि चासो बढेकै थियो ।
खप्तड जाँदै गर्दा मार्सीको स्वाद लिन पाइयो । मार्सीको चामलको भात, हिमाली सिस्नुको दाल, फापर र बेथेको साग, आलु र चोतो (उच्च हिमाली क्षेत्रमा फल्ने एक प्रकारको मुला) को तरकारी, भाँगो (भाङ) को चट्नी सबै अर्ग्यानिक । बझाङको तमैल–दाँरुगाउँ–लोखडा हुँदै खप्तड जाने क्रममा लोखडास्थित त्रिवेणी गेस्टहाउसले पर्यटकहरूलाई लक्षित गरी मार्सी खानाले स्वागत गर्छ । ‘टाढा–टाढाबाट आएका पर्यटकलाई एक छाक भए पनि स्थानीय स्वाद चखाउ न भनेर मार्सी खाना खुवाउने व्यवस्था गरेका हौं,’ होटल सञ्चालक विनिता रावलले भनिन् ।
चामल अर्ग्यानिक । पकाउने तरिका पनि आफ्नै । घरैमा फलेको धानलाई ओखलमा कुटेर चामल बनाउँछन्, जसले गर्दा धानको बोक्रामा निहित तत्त्वहरू खेर जाँदैनन् । खाना आगोमै पकाउँछन् । ग्यास चुल्होमा पकाएको भन्दा स्वादिष्ट । जंगलबाट तत्काल टिपेर ल्याएको ताजा हिमाली सिस्नुको दाल । उच्च हिमाली माटोमा फलाएको आलु र चोतोको तरकारी पनि उस्तै स्वादिला ।
बझाङको तमैलबाट दुई घण्टा जति जिप यात्रा परेपछि खप्तडछान्ना गाउँपालिकाको दारु गाउँ पुगिन्छ । यो खप्तडको फेदी पर्छ । त्यहाँबाट डेढदेखि दुई घण्टा पैदल उकालो चढेपछि लोखडा पुगिन्छ । खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार यहीं पर्छ । यहाँबाट थप तीन घण्टा उकालो चढेपछि मात्रै खप्तडको पाटन पुगिन्छ । खप्तड बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा पर्छ । चारवटै जिल्लाको बाटो भएर पुग्न सकिन्छ । यसमध्ये बझाङको तमैल–दाँरुगाउँ–लोखडा हुँदै जाने बाटो सबभन्दा छोटो हो । बाटो छोटो अनि मार्सीको भात खाना पनि पाउने भएकैले प्रायःले यो बाटो रोज्छन् ।
एक छाक खानाको २ सय ५० रुपैयाँ । दैनिक ७० देखि ८० पर्यटकहरू आउँछन् । ‘यो बाटो भएर खप्तड जानेहरू बढेका छन्,’ होटल सञ्चालक रावल भन्छिन्, ‘दुई वर्षयताकै तुलना गर्ने हो भने खप्तड घुम्न आउनेहरूको संख्या बाक्लिँदै छ । कतिले त बाटैदेखि फोन गरेर खाना अर्डर गर्छन् ।’ बाहिरबाट घुम्न आएकाहरू मार्सीको चामल खोजीखोजी किनेर लैजाने गर्छन् । प्रतिकिलो ७० रुपैयाँ पर्छ । मेल्तडीकी पुतली खड्का भन्छिन्, ‘टुरिस्टहरू मार्सी चामल खुब खोज्न थालेका छन्, जतिसुकै महँगो परेनि लैजान्छौ भनेर हारालुछ गर्छन्, कहिलेकाहीं त पकाउन ठिक्क पारेको पनि उठाएर लैजान्छन् ।’ रैथाने बालीअन्तर्गत पर्ने मार्सी धान उच्च क्षेत्रमा फल्छ । अरू धानको तुलनामा चिसो हावापानीमा उम्रन सक्ने विशिष्ट गुण यसमा पाइन्छ । मार्सी धानको चामल खैरो रङको हुन्छ । स्थानीय भाषामा रातो चामल भन्छन् । पौष्टिक तत्त्वका हिसाबले सेतो चामलको तुलानामा धेरै लाभदायी र स्वास्थ्यकर मानिन्छ । स्थानीयहरूले झाडापखाला निको पार्ने औषधिका रूपमा पनि लिन्छन् । मार्सी अलिनो भात र दही खाए जतिसुकै कडा खालको आउँ र झाडापखाला पनि तुरुन्तै निको हुने गरेको स्थानीयको अनुभव छ । यसमा पाइने म्याग्नेसियम, फाइबर, एन्टिअक्सिडेन्ट र ‘लिग्नान’ तत्त्वले रगतमा बोसो कम गराउँछ ।
स्वास्थ्यका दृष्टिले जति लाभदायिक छ, पछिल्लो समय सहर–बजारमा मानिसका सोखसँग पनि यो गाँसिएको छ । मार्सी चामल चन्द्रशमशेरकै पालामा पनि राणाहरूको दरबारमा पुग्थ्यो । जुम्लाबाट दैनिक हुलाकमार्फत चामल पुर्याइन्थ्यो । जुद्धशमशेरको पालासम्म यो क्रम चलेको थियो भन्ने कुरा विभिन्न लिखतहरूमा उल्लेख छ । राणाहरूको पालादेखि नै सम्भ्रान्त वर्गको रोजाइमा रहेको मार्सी पछिल्लो समय मध्यम वर्गहरूको रोजाइमा पनि पर्न थालेको छ । नेकपाका नेताहरू केपी ओली र पुष्पकमल दाहालले बीएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घरमा मार्सीको भात खाएको फोटो भाइरल भएपछि मार्सीको अचानक चर्चा बढेको थियो । बझाङ, बाजुरा, मुगु, हुम्ला, जुम्ला, कालीकोटलगायतका हिमाली जिल्लाहरूमा मार्सी फल्छ । स्थानीयको जिब्रोमा भने मार्सीभन्दा आयातित सेतो चामलको स्वाद पर्ने गरेको उनीहरू सुनाउँछन् ।