काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

मुख्य खबर

काठमाडौँ — सुकेधारा र अनामनगरमा आइतबार अपराह्न सिलिन्डर बम विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । बम पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा ढलाने पुलनजिकको सटरभित्र र अनामनगरमा कोठाभित्र सिलिन्डर पड्किएको हो । मृतकको सनाखत भइसकेको छैन ।
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले सोमबारका लागि आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेका सिलिन्डर बमहरु पड्किएका प्रहरीले जनाएको छ। घटनास्थलहरुमा प्रहरी टोली खटिएका छन्। घटनाको अनुसन्धान जारी छ। स्थानीयका अनुसार विस्फोटको ठूलो आवाजले आसपासका घरका सिसासमेत फुटेका छन्।

सरकारले आफ्ना गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै दमन गरेको भन्दै चन्द समूहले भोलिका लागि बन्द आह्वान गरेको हो। मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो। प्रहरीको गोली लागि घाइते तीर्थराज घिमिरेको बुधबार मृत्यु भएको थियो। घिमिरेको खुट्टामा गोली लागेको प्रहरीले बताएको थियो।

उक्त जंगलमा चन्दका समूहका केही दर्जन कार्यकर्ता हातहतियारसहित बसेको सूचनाका अनुसार प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय भोजपुरका टोलीले गस्ती गरेका थिए। त्यसक्रममा प्रहरीमाथि नै आइलागेपछि गोली चलाइएको थियो।

‘विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्’

आइतबार काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ।

घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *